७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

११ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१ औं वार्षिकोत्सव समारोह माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा शनिबार एक समारोहकाबीच सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ऋणीहरुको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्ने, बैंकद्वारा ऋणीहरुको प्रोफाइलिङ गर्ने, नगद कारोबार भन्दा डिजीटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने लगायत विषयमा जोड दिए । साथै बैंकले कर्जा लगानी गर्दा धितोमा आधारित भन्दा पनि क्रेडिट स्कोरको आधारमा लगानी गर्ने व्यवस्था गर्न सक्ने हो भने उद्धमशिलता तथा आयआर्जन र तिर्न सक्ने क्षमतामा आधारित विधिबाट अगाडी बढ्न सकिने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री खनालले बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८२ विमोचन गर्नुका साथै यस वर्ष राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका १२ वटा शाखा कार्यालयहरुको डिजिटल माध्यमबाट औपचारिक रुपमा उदघाटन गर्नुभयाे ।

सोही अवसरमा मन्त्री खनालले बैंकको नयाँ प्रडक्ट आरबिबि फोन लोनको शुभारम्भ गर्नुभयाे । कार्यक्रममा बैंकमा बीस वर्ष सेवा पूरा गर्नुभएका कर्मचारीहरुलाई दीर्घसेवा पदक सहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालले नेपाल सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी बैंकिङ सेवाहरुको विस्तार गर्दै बैंकले उत्पादनशिल क्षेत्रहरुलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गरिरहेको जानकारी गर्नुभयाे

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए । युवा पुस्ताको भावनालाई कदर गर्दै मुलुक एवम् जनताको हित हुने कार्यमा अग्रसर हुनु बैंकको प्रमुख जिम्मेवारी एवम् दायित्व रहेको बताउंदै उनले समाजको आर्थिक मेरुदण्डको सारथिका रुपमा बैंक संगसंगै अगाडि बढ्ने बताउनुभयाे ।

प्रमुख कार्यकारी अधिकृत खनालले कर्मचारीले समग्र देशको उत्पादन, रोजगारी एवम् आय वृद्धि मार्फत आर्थिक रुपमा सबल र सक्षम अर्थतन्त्र निर्माणका लागि वर्तमान तथा भावी पुस्ताको चाहना बमोजिम बैंकिङ सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउनुभयाे ।

उक्त अवसरमा उहाँले बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई आत्मसाथ गर्दै डिजीटल बैंकिङ्ग सेवालाई प्राथमिकताका साथ अगाडि बढाईरहेको र हालै मात्र नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा २०८०/०८१ मा सबैभन्दा बढी क्यू आर मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा बैंक पुरस्कृत भएको जानकारी दिनुभयाे ।

मूल समारोहको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रबिन्द्र प्रसाद चौलागाईं , नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष सुदिन केसी र राष्ट्रिय वाणिज्य बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष चुडामणि गुप्ताले कर्मचारीको हकहित तथा समग्र बैंकको सम्बन्धमा आ–आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : January 25, 2026 at 12:30 pm