टिकट असन्तुष्टिः जुनीचाँदे गाउँपालिकाका अध्यक्ष शाहीले परित्याग गरे एमाले
४ माघ, काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाहीले एमाले परित्याग गर्नुभएको छ । एमालेले टिकट वितरणमा गलत निर्णय गरेको भन्दै गाउँपालिका अध्यक्ष रहुनभएको शाहीले एमाले परित्यागको घोषणा गर्नुभएको हो ।
एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जाजरकोटबाट डम्बर बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । टिकटका लागि केन्द्रीय सदस्य नीरज आचार्यको पनि चाहना थियो ।

पछिल्लो समय एमालेका पूर्व उपमहासचिव विष्णु रिमालसँग निकै निकट भएर काम गर्नुभएको आचार्यले अन्तिम समयमा टिकट नपाएपछि जिल्लामा असन्तुष्टि पोखिनेक्रम जारी रहेको छ ।
आचार्यले टिकट नपाउँदा एमाले परित्याग गर्ने शाहीले पार्टीभित्र अधिनायकवाद लादिएको, नातावाद र कृपावाद हाबी भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘इतिहास बोकेका र जनआधार भएका नेता–कार्यकर्तालाई नियोजित रूपमा पन्छाउन खोजिएको छ।’

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार २२:५३









