१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

अस्मिताकै कारण अशान्त बन्यो एमाले ओखलढुंगा, कार्यालयमा ताला, कार्यकर्तामा निराशा

४ माघ, ओखलढुंगा । नेकपा एमालेको सचिवालय बैठकले अस्मिता थापालाई टिकट दिएकोमा असहमति जनाउँदै जिल्ला पार्टी कार्यालय ओखलढुंगामा ताला लागेको छ । जिल्ला कमिटीले सिफारिस नगरेको व्यक्तिले टिकट पाएको भन्दै त्यसलाई सच्याउन माग गर्दै एमाले ४ जनवर्गीय संगठनले आइतबार कार्यालयमा ताला लगाएका हुन् ।

अनेरास्ववियुका अध्यक्ष अर्जुन गिरी, अखिल नेपाल महिला संघकी अध्यक्ष पशुपति गुरुङ, राष्ट्रिय युवा संघ ओखलढुंगाका अध्यक्ष विवेश तामाङ र नेपाल खेलकुद महासंघका अध्यक्ष राजकुमार राईले विज्ञप्ति जारी गरी निर्णय नसच्चिएसम्म अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएका छन ।

त्यस्तै एमाले ओखलढुंगाका अध्यक्ष ज्ञानबहादुर खड्काले आइतबारै विज्ञप्ति जारी गरी जनवादी केन्द्रीयताको नाममा ओखलढुंगा जिल्ला कमिटीले गरेको निर्णय उल्ट्याएर आमपार्टी कार्यकर्ताहरूको मनोभावनाविपरीत गुटका लागि निर्णय गरिएकाले त्यस्ता व्यक्तिलाई सहयोग गर्न नसकिने जानकारी गराउनुभएको छ ।

एमाले महाधिवेशनमा पनि प्रतिनिधि छनोटमा भएको मतदानमा पराजित भएर चोरबाटोबाट प्रतिनिधि बन्नुभएको थापाले चोरबाटोबाटै सांसदको टिकट हत्याएपछि ओखलढुंगा अशान्त बनेको छ ।

प्रकाशित मिति : January 18, 2026 at 11:25 pm