४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

विष्णु रिमाललाई उपमहासचिव हराएको बदला योगेशसँग केपीले लिए

४ माघ, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपमहासचिवमा विष्णु रिमाललाई हराएको बदाला योगेश भट्टराईसँग लिनुभएको छ । प्रतिनिधिसभा सदस्यको टिकट वितरणमा ओलीले सचिवालय बैठकबाट गर्नुपर्ने निर्णय होल्डमा राखेर व्यक्तिगत निर्णयको आधारमा योगेश भट्टराईमाथि प्रतिशोध लिनुभएको छ ।

ओलीले भट्टराईले लगातार दुई पटक चुनाव जितेको ताप्लेजुङमा क्षितिज थेवेलाई टिकट दिनुभएको छ । थेवे पछिल्लो समय अकुत सम्पत्ति जम्मा गरेको अभियोगमा अनुसन्धानमा तानिनुभएको पात्र हो ।

शनिबारको सचिवालय बैठकमा ओलीले भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङको टिकट ‘होल्ड’ गर्नुभएको थियो । स्रोतका अनुसार ओलीले भट्टराईले गुन्डु आएर टिकटका लागि सुलह गरोस् भन्ने चाहना राख्नुभएको थियो । तर भट्टराई गुन्डु जानु भएन उल्टै उम्मेदवार छनोटमा एकलौटी गरेपछि शनिबारको सचिवालयको बैठकमा निर्णयविरूद्ध नोट अफ डिसेन्ट ९असहमति० दर्ता गराउने जानकारी दिनुभयो ।

शनिबार १४१ क्षेत्रका उम्मेदवारको टुंगो लाग्दा एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट २ जनाले मात्रै टिकट पाएका थिए भने यसअघि चुनाव जितेका १३ जनाको टिकट खोसिएको थियो । आइतबार भने केही निर्णयहरु सच्चाइएको छ । शनिबारको त्यो निर्णय विरुद्ध भट्टराईले असहमति जनाउनुभएको थियो ।

मुलुकको विशिष्ट राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको भन्दै भट्टराईले उक्त निर्वाचनमा उम्मेदवार छनौट गर्दा स्पष्ट मापदण्ड बनाउन माग गर्नुभएको थियो ।

टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेख्नुभएको छ । भट्टराईले यसअघि निर्वाचन जितेका अनुहारलाई प्राथमिकता दिनुपर्ने, तलका जनप्रतिनिधिहरूलाई कार्यकाल छँदै माथि उम्मेदवार बनाउने कुरा रोक्नुपर्ने उल्लेख गर्नुभएको छ ।

नेकपा ९एमाले० को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट ओली विरुद्ध खुलेर भट्टराई मैदानमा आउनुभएको थियो । त्यसयता भट्टराईसँग ओली आक्रोशित हुनुहुन्थ्यो । भट्टराई टिकट दिए जितेर फर्किएपछि संसदीय दलमा समेत चुनौती हुने देखेपछि ओलीले भट्टराईको टिकट खोसेको गुन्डु स्रोतको भनाइ छ । यद्ययी ओलीले झापा ५ मा यसपटक राप्रपाको मत लिँदा पनि जित्ने सुनिश्चित आधार छैन् ।

भदौ २३ र २४ को घटनापछि भट्टराईले पार्टीमा रुपान्तरण र पुनःगठनको मुद्दा उठाउनुभएको थियो । भदौ २३ र २४ को घटनापछिको पहिलो केन्द्रीय कमिटी बैठकमा भट्टराईले लिखित प्रतिवेदन पेश गरेर ओलीले ठाउँ खाली गर्नु पर्ने प्रस्ताव गर्नुभएको थियो । त्यसयता ओली भट्टराईसँग आक्रोशित हुनुहुन्थ्यो ।

शनिबार बसेको सचिवालय बैठकले पनि भट्टराईले यसअघि चुनाव जितेका तारा लामा तामाङ, ठाकुर गैरे, गोकुल बास्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा लगायतलाई पुनः उम्मेदवार बनाउनुपर्ने बतउनुभएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार २१:३४