९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

नेपाल सुर्ती उद्योगको हस्तक्षेप गर्ने मुलुकमध्ये मध्यममा

४ माघ, काठमाडौँ । नेपाल सुर्ती उद्योगको हस्तक्षेत हुने मुलुकमध्ये मध्यममा परेको छ ।

स्वास्थ्य अधिकार तथा सुर्तीजन्य नियन्त्रण सञ्जाल नेपालले आज ‘सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप प्रतिवेदन’ सार्वजनिक कार्यक्रममा सञ्जालका अध्यक्ष शान्तलाल मुल्मीले नेपालमा सरकारी निकाय कानुनको कार्यान्वयन फितलो तथा उदासीन हुनमा अप्रत्यक्ष रुपमा सुर्ती उद्योगको प्रलोभनमा देखिएको बताउनुभयो ।
‘ग्लोबल गभर्नेन्स अन टोवाको कन्ट्रोल’ले विश्वमा सय देशमा गरेको अध्ययनमा नेपाल ४३ अङ्क प्राप्त गरी १४औँ स्थानमा रहेर सुर्ती उद्योगको हस्तक्षेप मुलुकमा परेको छ । बु्रनाई सुर्ती उद्योगको हस्तक्षेप नहुने मुलुकमा पर्दछ । सबैभन्दा बढी सुर्ती उद्योगको हस्तक्षेप हुने मुलुकमा डोमिनी रिपब्लिक, स्विजरल्यान्ड र अमेरिका परेका छन् ।
सञ्जालका अध्यक्ष मुल्मीले अध्ययनमा सुर्ती उद्योगले उत्पादन, आम्दानी र बजारीकरणमा गरेको खर्च सार्वजनिक नगरी आफ्नो दायित्वबाट पन्छिने गरेको पाइएको बताउनुभयो । “आन्तरिक राजस्व विभागले सुर्तीको बिक्री–वितरणका सम्बन्धमा अनुगमन तथ्याङ्क गरी राख्नुपर्नेमा त्यो नहुनु र दक्षिण एसियाली देशमध्ये नेपालमा सुर्ती कर सबैभन्दा कम हुनु उद्योगीको दबाब र प्रभाव हो भन्ने आधार रहेका छन्,” उहाँले भन्नुभयो ।
अध्ययनमा सुर्ती उद्योगीको प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन हुन नसकेको उल्लेख गरिएको छ । अध्ययनमा ७५३ स्थानीय तहमध्ये केहीले मात्र सुर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेखनीय कार्य गरेको बताइएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले सबैको सहयोगबाट नै सुर्ती उद्योगको हस्तक्षेपलाई रोक्न सक्ने बताउनुभयो । उहाँले युवालाई आकर्षण गरी सुर्ती उद्योगले भेप र हुक्का जस्ता सुर्तीजन्य पदार्थको बिक्री–वितरण गरिरहेको भन्दै स्थानीय स्तरबाट नै सुर्ती उद्योगलाई रोक्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : January 18, 2026 at 10:31 pm