२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छः अध्यक्ष लिङ्देन

२७ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासका लागि प्रेरित गर्ने बताउनुभएको छ ।

पार्टीद्वारा ३०४ औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शाहले मुलुकको एकीकरणमा पुर्याएको योगदानलाई सम्झनुका साथै उहाँको आदर्शबाट पाठ सिकेर देशलाई सुदृढ राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सबै नेपालीहरूले आफ्नो इतिहासको सम्मान गर्दै राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न पृथ्वी जयन्तीलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो । “देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको पक्षलाई संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ । शाहको दूरदर्शी सोच र अदम्य साहसबाट सिक्दै सामाजिक, आर्थिक रूपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिलाई थप सुदृढ बनाउन लाग्नुपर्छ । ”

कार्यक्रमका अवसरमा आयोजित चियापानमा प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार २१:४२