२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२५ पुस, काठमाडौं ।  पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि आईपीओ निष्कासनको बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपसारी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दहरुका लागि सो सेयर निष्काशन गर्न लागेको हो।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजाररुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ ९ गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैंडाकोट शाखा कार्यालय, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा कार्यालय तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ०९:२०