लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता
२३ पुस, जनकपुरधाम । राष्ट्रियसभा सदस्य पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले आज जनकपुरधामस्थित मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारी रहनुभएको यहाँस्थित निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदका लागि मधेसको प्रदेशसभातर्फ १०४ जना र स्थनीय तहतर्फ २६६ मतदाता रहेका छन् ।
ठाकुरको उम्मेदवारी पछि सोही पार्टीका नेता शरतसिंह भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससँग सहमति गरी सोही आधारमा उम्मेदवारी दिइएको जानकारी दिनुभयो । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यको चार वटा रिक्त पदका लागि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १६:५७








