सिटिजन लाइफद्वारा गुल्मीका विद्यार्थीलाई न्यानो कपडा वितरण
२१ पुस, काठमाडाैं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गाउँपालिका–६ स्थित बुल्म आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक माया महत कुवरले बीमा दुःखको साथी भएको उल्लेख गर्दै, चिसो मौसममा विद्यार्थीहरूको अध्ययन वातावरण सहज बनाउने उद्देश्यले गरिएको सहयोगप्रति कम्पनीलाई धन्यवाद व्यक्त गरिन्। विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष बोमलाल भण्डारीले पनि कठिन मौसममा लक्षित विद्यार्थीहरूलाई गरिएको सहयोगले समाजमा कम्पनीको सकारात्मक उपस्थिती देखाएको भन्दै आभार व्यक्त गरे।
सिटिजन लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश क्षेत्रीय प्रबन्धक दुर्गा राज ढकालले कार्यक्रममा बोल्दै विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए। उनले बीमालाई स्थानीय सरकारको योजना निर्माणमा समावेश गर्दा भविष्यमा आपत्–विपत् व्यवस्थापनमा सहज हुने सुझाव दिएका छन्। ढकालले सिटिजन लाइफ इन्स्योरेन्स केवल बीमा सेवा दिने संस्था नभई समाजप्रति जिम्मेवार कम्पनी भएको पनि बताए।
प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १३:४९








