३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

१० मंसिर, जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको शहरका गभर्नरले मङ्गलबार जानकारी दिएका छन् ।

जकार्ताका गभर्नर प्रमोनो अनुङले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि मैले निर्णयमा हस्ताक्षर गरिसकेको छु ।”

एएफपीले देखेको एक पत्रमा प्रमोनोले सोमबार हस्ताक्षर गरेको उक्त नियम लागू हुनुअघि छ महिनाको छुट अवधि प्रदान गरेको छ ।उल्लङ्घनकर्ताहरूले लिखित चेतावनीदेखि व्यापार इजाजतपत्र रद्द गर्नेसम्मको प्रतिबन्धको सामना गर्न सक्छन् ।

गभर्नरले अनुङले भन्नुभयो, “यो प्रतिबन्ध जीवित जनावर, मासु वा अन्य कच्चा वा प्रशोधित मासुजन्य उत्पादनहरूमा लागू हुनेछ । सम्बन्धित सबै गतिविधिहरू खाद्य उद्देश्यका लागि लक्षित रेबिज सार्ने जनावरहरूको बेचविखन नियन्त्रणका लागि लागु गर्न लागिएको हो ।”

इन्डोनेसिया कुकुर र बिरालोको मासु बेच्न अनुमति दिने थोरै देशहरू मध्ये एक हो । देशका अन्य स्थानमा पनि मासु बेच्ने अनुमति दिने अभ्यासकोविरूद्ध अभियानले गति लिएको छ । हालका वर्षहरूमा केही सहरले केही जनावरको मासुको बेचबिखनमा स्थानीय प्रतिबन्ध लगाएका छन् ।

पशु अधिकारकर्मीहरूले जकार्ता प्रतिबन्धलाई पशु अधिकारका लागि सही दिशामा अघि बढ्ने एक कदम प्रगतिको रूपमा प्रशंसा गरेका छन् । कुकुरको मासु बेच्ने स्वतन्त्रता जारी रहेको इन्डोनेसियाले एक विज्ञप्तिमा भनेको छ, “यो नीति सबै इन्डोनेसियाली जनताको रक्षा गर्ने र न्यायपूर्ण र सभ्य राष्ट्र बन्ने संविधानको म्यान्डेटसँग मेल खान्छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष रेबिजका कारण धेरै इन्डोनेसियालीहरूको मृत्यु हुने गरेको छ । इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले सन् २०२५ जनवरीदेखि मार्चको बीचमा रेबिजका कारण २५ जनाको मृत्यु भएको जनाएको छ ।

मुस्लिम बहुल इन्डोनेसियामा कुकुरलाई अशुद्ध मानिएको र घरपालुवा जनावरका रूपमा विरलै राखिन्छ तर केही समूहमाझ कुकुरको मासु अझै किनबेच हुने गरेको छ । प्रोटिनको सस्तो स्रोत कुकुरको मासु अन्य केही एसियाली देशहरूमा पनि खाने गरेको पाइन्छ ।

प्रकाशित मिति : November 26, 2025 at 1:43 pm