२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

रास्वपाको सचिवालय बैठकले गर्यो यी पाँच निर्णय

१० मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले पाँच वटा निर्णय गरेको छ। मंगलबार राति बसेको सचिवालय बैठकले वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा आउन आह्वान गर्नुको साथै आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई दिने निर्णय गरेको छ ।

बैठकले सबै पालिकामा र्यापिड एक्सन फोर्स गठन गर्ने निर्णय समेत गरेको छ भने कीर्तिपुर नगर समिति भङ्ग गर्ने निर्णय पनि गरेकाे छ ।

यस्ता छन् बैठकका निर्णय :

१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो । सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशननुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो ।

सुशासन र द्रुत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो ।

२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो ।

३.प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।

४.सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला सङ्गठनलाई निर्देशन दिने निर्णय गरियो।

५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ११:५३