जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ
४ कात्तिक, बागमती । जवर्जस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा असोज ३१ गते ११ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना जवर्जस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेटौँडा उपमहानगरपालिका–१० बाट ११ बुक तास र रु तीन लाख छ हजार ३१० नगदसहित पक्राउ परेकामध्ये स्थानीय ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङ सिन्धूपाल्चोक जिल्ला अदालतबाट २०७४ साल साउन ११ गते जवर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाइ फरार रहेका थिए ।
यसैगरी पक्राउ परेकामध्ये मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरे निवासी २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार चोरी तथा डाँका मुद्दामा फरार अभियुक्त रहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताउनुभयो ।
दर्नालमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त महाराजगञ्ज काठमाडौँमा गरी चोरी तथा डाँका कसुर सम्बन्धी पाँच मुद्दा दत्र्ता रहेको उहाँको भनाइ छ । दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्बधित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : October 21, 2025 at 12:43 pm










