राजश्व छुट, बैंकिङ सहुलियत र बीमामा सहजीकरणप्रति निजी क्षेत्रले गर्यो सरकारको प्रसंशा
२० असाेज, काठमाडाैं । निजी क्षेत्रले पुनर्निर्माणका लागि राजश्व छुट, बैंकिङ सहुलियत र बीमामा सहजीकरण गरेको प्रति सरकारको प्रसंशा गरेका छन् । सोमबार तीनवटै निजी क्षेत्रका प्रतिनिधिहरुले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर सरकारको प्रसंशा गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालसहित प्रतिनिधिको टोलीले अर्थमन्त्री खनाललाई भेट गर्दै सरकारको उक्त कदमको प्रसंशा गरेका हुन् ।
त्यस्तै, मूल्य खारेज गरी भन्सारमा अनलाइन डाटावेश प्रणाली लागू गरिएकोमा निजी क्षेत्र उत्साहित रहेको प्रतिक्रिया दिएका थिए । अर्थमन्त्रीसँगको भेटमा सकारात्मक परिवर्तनका लागि युवाहरुको आन्दोलनका क्रममा भएको घुसपैठले अर्थतन्त्रमा ८१ र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएको र यसले उद्यमी व्यवसायी निरुत्साहित भएको पनि निजी क्षेत्रको भनाइ छ ।
घुसपैठ र लुटपाट तथा आगजनीमा संलग्नमाथि कारवाही हुन सकेन भने निजी क्षेत्र थप निरुत्साहित हुने धारणा अर्थमन्त्रीसमक्ष निजी क्षेत्रका प्रतिनिधिहरुले राखेका छन् । उनीहरुले यस्ता गतिविधिमा संलग्नहरुलाई तत्काल कानुनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
भेटमा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रका व्यवसायी निरुत्साहित भएको बताउँदै आगामी दिनमा मनोबल बढाउन सरकार लागि पर्ने समेत बताएका छन् ।
सरकारले निजी क्षेत्रका माग सम्भव भएसम्म तत्काल सम्बोधन गरिरहेको हुँदा निजी क्षेत्रले पनि इमान्दारीताका साथ व्यवसाय गर्न अर्थमन्त्री खनालले आग्रह गरे ।
प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १७:२८












