२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

नेता छान्ने सात सूत्र: झुक्किइरहेका हामीले नझुक्किन के गर्ने होला ? 

-टिका निधी लोहनी

आठ हजार वर्ष अगाडि फिरन्ते जीवन विट मारेर भर्खर भर्खर घरबार गर्न थालेका मेरा जिजुवाजेलाई आफ्नो समूहको नेता छान्नुपरेको थियो । अहिले मेरो १४ वर्षे छोरोको पनि हैरानी नेतृत्व छान्नेमा नै छ । उसले हालै नेपालको प्रधानमन्त्री छान्न डिस्कर्डमा भएको मतदानमा सुशीला कार्कीलाई भोट हालेछ । जिजुवाजेका उपर जिजुवाजेले पनि नेता छाने हुँदा हुन् । मौरी, सिंह, स्याल लगायतका जनावरले नेता छान्दा मेरा पुर्खाले पनि अवश्य नेता छाने । कारण र विधि फरक अवश्य थियो । नेतृत्व सामाजिक संयन्त्र त हो, तर यो चेतनासँग जोडिएको उद्भवको पक्रिया पनि हो । अहिले मैले चर्चा गर्न खोजेको नेतृत्व चाहिँ फागुन २१ गतेलाई निशानामा राखेर हो । फागुन २१ । हुँदोखाँदाको संसद् विघटन गरेर राम्रो संसद् निर्वाचित गराउन हामीले निर्वाचन घोषणा गरेको मिति । निर्वाचन नहोला भन्ने संशय अति बढी छ । मलाई पनि त्यस्तै लाग्छ । तर, प्राथना चाहिँ निर्वाचन होस् भन्ने नै छ । त्यो अर्थमा पूर्वाग्रह छ ।

संसद्को निर्वाचन नहुनुको पीडा हाम्रो जेनेरेसन एक्स र वाईलाई राम्रोसँग याद छ । २०५९ साल जेठ ८ गते माओवादी आन्दोलनका कारण देशभर लगाइएको सङ्कटकाल लम्ब्याउन सांसदले व्यवधान खडा गर्ने परिस्थिति बन्यो । त्यही झ्वाँकमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन गरिदिए । र, २०५९ कात्तिक २७ गते मध्यावधि निर्वाचन घोषणा गरे । तर निर्वाचनको माहौल बनेन । २०५९ असोज १९ गते आफैँले विघटन सिफारिस गरेको संसद् पुनर्स्थापनाका लागि सिफारिस गरे । प्रतिक्रियामा तत्कालीन राजा ज्ञानेन्द्रले चाहिँ देउवालाई अक्षम घोषणा गर्दै प्रधानमन्त्रीबाट हटाइदिए । अनि त्यही प्रतिनिधि सभा पुनःस्थापना समेतका लागि २०६२/६३ मा हाम्रो पुस्ताले दास्रो जनआन्दोलन गर्‍यो । संविधान सभाका दुईदुईवटा चुनाव गरेर २०७२ सालमा मात्र संविधानसभाको काम सकेर झालेमाले प्रतिनिधिसभा फेला पर्‍यो । कम्तीमा त्यो १३ वर्ष राजनीतिक रूपमा प्रतिनिधि सभाका हिसाबले ठुलो नोक्सान भएको समय थियो । प्रतिनिधिसभाकै निर्वाचन त अझ २०७४ सालमा मात्र भयो । यो विधायिका शून्य भएको अवस्था थियो । खग्रास थियो । त्यो अगुल्टोको यादले पनि संसदविहिनताको स्थिति मलाई अत्यास लाग्छ ।

अब हामीले निर्वाचन गर्नु छ । प्रतिनिधिसभाका लागि मात्र हैन्, हामीले समाजमा पटक पटक नेता छान्नु छ । हामी नेता छान्दा पटक पटक झुक्किएका छौँ । हजारौँ पटक चोट खाएर पनि चेत नआउने वनेका छौँ । ठूलाठूला कुरा गरेर ठूलाठूला कुरा मात्र हुन्छन् । ठूलाठूला काम हुँदैनन् । आधारभूत ठाउँबाट कुरा सुरु गर्न आवश्यक छ । अक्सर हाम्रो नेता छान्ने चलनहरूलाई ध्यानमा राख्दै यो लेखमा हामीले आउँदो प्रतिनिधि सभा वा अन्य कुनै सार्वजनिक पदमा नेतृत्व छान्दा ध्यान दिनुपर्ने सात वटा विषयमा चर्चा गरेको छु । मलाई थाहा छ, यो कुरा तपाईँलाई पनि थाहा छ । मैले तपाईँको विश्वासलाई थप बलियो बनाउनका लागि मात्र यो कुरा चर्चा गर्दै छु । अनि हुन त हो, तर कहाँ यस्ता सोझा कुरा गरेर हुन्छ भन्ने तपाईँलाई लागिरहेको छ भने चाहिँ एक एक गरेर विश्वास बढाउँदै लैजाने हो भन्नका लागि र तपाईँको आत्मविश्वास बढाउनका लागि यो चर्चा गर्दै छु । तपाई र मैले नेता छान्दा यसमा विश्वास गरौँ । अनि तपाई र मेरा साथीहरूलाई भनौँ । उनीहरूले यसलाई पालना गर्नेछन् । एकाएक जनाले प्रयोग गरेपछि यो विश्वास व्यापक बन्छ । हाम्रो चलन बन्छ । त्यसरी नेता छान्दा हाम्रो नेतृत्व तुलनात्मक रूपमा असल र प्रभावकारी बन्न सक्छ ।

१. चर्को भाषण इक्वल्स टु राम्रो नेताः हामी सबैभन्दा झुक्किने नै यही हो । वक्तृत्वकला र नेतृत्वकला फरक हुन् । तर, हामीलाई नअकमकाइकन सररर बोल्ने मानिस राम्रो नेता लाग्दछ । अझ विपक्षीलाई सत्तोसराप गर्न सक्ने मानिस सही लाग्छ । हामी हात दुख्ने गरी ताली पिट्छौँ । आनन्द लिन्छौँ । त्यो भाषण गर्ने मानिसले तपाई भित्रको राप र तापलाई त समायो । तर, के उसले प्रकाश देखाउँदै छ ? कि तपाई भित्रको राप र ताप प्रयोग गरेर तपाईँलाई नै डढेलो लगाउन उसले तपाईँलाई बारुदमा वदल्दैछ । हो, नेताले आफ्ना कुरा अरूलाई सहज ढङ्गले अभिव्यक्त गर्न चाहिँ सक्नुपर्दछ । तर, यो मात्रै गर्न सक्नेलाई नेता बनाएर हुँदैन । हामीले नेता छान्दा अरू पनि कतिपय राम्रा गुण आवश्यक हुन्छन् । हालैको आन्दोलनमा फररर वोल्नसक्ने केही युवालाई हेरेर ल यो राम्रो नेता हुनसक्ने मानिस रहेछ भनेर मन पराएको देखिन्छ । यस्तो गर्न हुँदैन ।

२. पैसा, खानपान वा अवसर सँग लेनदेन ः यो त सरासर भ्रष्ट्राचार भइगयो । तपाईँले गरेको भ्रष्ट्राचार । मत दिने भनेको आफ्नो विवेकको प्रयोग गरेको हो । विवेकलाई बन्धक बनाएर पैसा, खानपान र अन्य अवसरसँग लेनदेन गरेकै कारण गलत मानिसहरू नाजायज ढङ्गले निर्वाचित हुने गर्दछन् । राजनीति आधुनिक समाजको सबैभन्दा पवित्र धर्म हो । असल राजनीति गरेर धन कमाउन सकिदैन् । कोही मानिस राजनीति गरेर धन कमाउँदै छ वा बेप्रवाह धन खर्च गरेर राजनीति गर्दै छ भने उ गलत बाटोमा छ । राजनीति गरेर रवाफ सृजना गर्न मात्रैका लागि पनि उसले धन खर्च गर्दै छ भने पनि त्यो गलत हो । म समाजलाई केही दिन राजनीति गर्दै छु, मलाई त नपुगेको के छ र भनेर कसैले भन्दै छ र जथाभाबी खर्च गर्दै छ भने पनि उ ठग्दै छ । विवेकसम्मत र पारदर्शी आर्थिक कारोबार नभएको राजनीति अपाराधिक गतिविधि सरह हो ।

dainiki.com

३. जित्नेलाई मात्रै भोट दिनेः संसदीय चुनाव वा स्थानीय निकायहरूको चुनावमा जित्ने मानिसलाई मात्र भोट दिने कुरा सुनिन्छ । यो एकदमै गलत कुरा हो । फलानो उम्मेदवारले जित्ने वा हार्ने कुरा निकै पछिको कुरा हो, तपाईँको मत बडी महत्त्वपूर्ण कुरा हो । तपाईँको विवेकले के ठान्छ, कसलाई नेता छान्नु ठिक ठान्छ, त्यो महत्त्वपूर्ण कुरा हो । त्यो नै सर्वोपरि हो । जित्नेलाई मात्र भोट दिने, हार्नेलाई भोट नदिने, भोट खेर फाल्न नदिने जस्ता कुरा त दासता हो । फलानो बलियो होला, म त्यसैलाई चुन्छु भन्नु त कसरी स्वतन्त्रता भयो र ? मतदान आफ्नो विवेक प्रयोग गर्ने चिज हो, दासताको सलामी हैन ।

४. निष्ठाको महत्त्वः लोकतन्त्र, विधिको शासन र सामाजिक न्याय अहिलेको हाम्रो समाजको करार हो । तपाईँले नेता छानेका मानिसले भोली तपाईँलाई शासन गर्ने हो । तपाईँको प्रतिनिधित्व गर्ने हो । तपाईँको तर्फबाट अधिकारको प्रयोग गर्ने हो । तपाईँको अगाडि अर्को मानिससगँ वैमानी गर्ने मानिसले भोली तपाईसँग पनि वैमानी नै गर्ने हो । ढुक्क हुनुस् । वैमानी चरित्र हो, घटना हैन । विधिलाई कुल्चने, फरक मतलाई सम्मान गर्न नसक्ने, र सामाजिक न्यायको मान्यता विपरीत काम गर्ने मानिसले निरन्तर अन्याय र अपराध गरिरहेकै हुन्छ । आज कसैलाई आघात हुने गरी अन्याय गर्छ, अर्को पटक अर्कोलाई । तर, अन्याय गरिरहन्छ । त्यसैले आफ्नो मत निष्ठावान् मानिसलाई नै दिनुपर्दछ । आर्थिक अनुशासनमा विवादमा परेको, फौजदारी अभियोग लागेको, यौन काण्डमा फसेको, ठगीमा जोडिएको, डाङ्गडुङ्गमा नाम आइरहने जस्तो मानिसलाई झुक्किएर पनि नेता नछानौँ । समाजमा त्यस्ता आचरणका मानिस निर्वाचित हुनु समाजकै बेइज्जत हो । नेताको जीवन पद्धति सकेसम्म पारदर्शी हुनुपर्दछ । रहस्यमयी जीवन जिउने मानिस समाजलाई महँगो पर्न सक्छ । तिलस्मी मानिससँगको जोखिम उच्च हुन्छ ।

५. दृष्टिकोणः नेता भनेको चेतना हो । नेता सङ्गत मात्र हैन । हामी अक्सर नेतालाई सङ्गतले चुम्दछौँ । त्यही भएर हाम्रा नेताहरू प्नि सङ्गठनमा बडी अलमलिनुपर्दछ । नेता सङ्गठन त हो नै, तर त्यो भन्दा बडी विचार हो । दृष्टिकोण हो । नेपालमा पढेलेखेको मान्छे राम्रो हुन्छ भन्ने पनि भाष्य छ । हो पनि । तर, पढेर उसले जानेको चाहिँ के हो ? उसको दृष्टिकोण के हो ? उसको दृष्टिकोणले तपाईँको दृष्टिकोणको प्रतिनिधित्व गर्दछ ? उससँग आलोचनात्मक चेत के छ ? उसले समाजका अन्तरविरोधहरुलाई कसरी बुझेको छ ? विकास सम्बन्धी उसको अवधारणा के हो ? पर्यावरणका बारेमा उ के सोच्दछ ? भ्रष्ट्राचार नियन्त्रणका बारेमा उ के सोच्दछ ? करका नीतिका  बारेमा उसको विचार के हो ? अर्थतन्त्रको विकासका बारेमा उसको धारणा के हो ? विचारको बहस हाम्रो समाजमा निकै कम हुन्छ । भएको बहस पनि अति माथिल्लो तर सतही हुने गर्दछ । मार्क्सवाद ठिक कि पुँजीवाद ठिक टाइपको । भ्यालेन्टाइन ठिक कि इजरायल ठिक ? ट्रम्प ठिक कि पुटिन ठिक ? यस्तो दृष्टिकोणमा चर्काचर्की बहस हुन्छ । तर, आफैँलाई काम लाग्ने विषयका दृष्टिकोणमा खासै छलफल हुदैन् । अव यसलाई बदल्नुपर्दछ ।

६. रवाफिलो नेता छान्नेः अर्को हामिकँहा धाक धक्कु, रवाफ, धन सम्पत्ति, आगेपिच्छेवाला लगाएर हिँड्ने, गाडी, घोडा भएकोलाई नेता मान्ने चलन छ । स्रोत परिचालन गर्नसक्नेलाई । निर्वाचन लगायतका नेतृत्व छनौटमा सहभागी हुन थोरबहुत स्रोत परिचालन गर्न सक्ने मानिस त चाहिन्छ नै । तर, पारदर्शी हिसाबले स्रोत परिचालन गर्न सक्ने मानिस आवश्यक हुन्छ । निर्वाचनको बजेट कति हो, त्यो कुन स्रोत वाट जुटाइयो, जुटाइदैंछ र कसरी खर्च गरिदैंछ ? निर्वाचनको क्रममा नै अपारदर्शी काम गर्नेले बागडोर हातमा लिइसकेपछि कति अपारदर्शी काम गर्ला ? आजकाल त स्टण्ट राजनीति हाबी भएको छ । भाइरल र स्टण्ट राजनीति अर्को प्रपञ्च हो । यसमा फस्न हुदैन् ।

७. व्यवस्थापकीय सीपः नेता व्यवस्थापक पनि हो । आफ्नो जीवन व्यवस्थापन गर्न नसक्ने, आफ्नो कार्यालय व्यवस्थापन गर्न नसक्ने, आफ्नो परिवार व्यवस्थापन गर्न नसक्ने, आफ्नो व्यवसाय व्यवस्थापन गर्न नसक्ने, आफ्नो खानपान, उठबस व्यवस्थापन गर्न नसक्ने, समय व्यवस्थापन गर्न नसक्ने, शारीरिक स्वास्थ्य आचरण व्यवस्थापन गर्न नसक्ने नतोको काम छैन । उ गफ दिएर नेता हुनसक्छ । तर, उसले व्यवस्थापन गर्न सक्दैन । एउटा व्यक्ति कै रूपमा उ असल छैन, न्यूनतम व्यवस्थापकीय सीप छैन भने उसले आफैँलाई नेतृत्व गर्न सकेको छैन, हजुर हामीलाई उसले व्यवस्थापन गर्न सक्दै सक्दैन ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार ०६:५६