१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

एमालेले जबज छोडेको शंकरको संकेत, विधान महाधिवेशनको नाराबाट जबज र एमाले दुबै हरायो

१० भदौ, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) छाडेको संकेत गर्नुभएको छ । व्यवहारबाट जबजको जरा नै उखेलिसकेको एमालेले कागजी दस्ताबेज र नेताहरूको भाषणमा भने देखिने गरेको थियो ।

जबजको मुख्य व्याख्याताको उपमा प्राप्त महासचिव पोखरेलले नै यसको संकेत सामाजिक सञ्जाल फेसबुक मार्फत गर्नुभएको छ । यसअघि देखि नै जबजको मुल मान्यता विपरित दुई दलीय व्यवस्थाका लागि निरन्तर आवाज उठाइरहनुभएको महासचिव पोखरेलले सोमबार र मंगलबार पार्टीको बिधान महाधिवेशनको नाराका रूपमा फेसबुकमा राखेको बाक्यमा जबज कतै पनि देखिदैन ।

जबजको रूपान्तरण नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा रहेको बताउन थाल्नुभएको महासचिव पोखरेलले सार्वजनिक गर्नुभएको विधान महाधिवेशनको नारालाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा र कार्यक्रम आफ्नो भएकाले अब एमालेको मुल सिद्धान्त नै यही बन्नुपर्ने पक्षमा हुनुहुन्छ । यदाकदा महासचिव पोखरेलसहित नेताहरूले जबज सान्दर्भिकता ‘समृद्ध नेपाल, सुखी नेपाली’मा सिफ्ट भएको तर्क समेत गरिरहनुभएको पाइन्छ ।

dainiki.com

एमालेले विधान महाधिवेशनको नाराका रूपमा हिजो (सोमबार) सार्वजनिक गरेको बक्य आज नै परिवर्तन गरिसकेको छ । महासचिव पोखरेलको फेसबुकमा सार्वजनिक भएको हिजो र आजको नारामा व्यापक सम्पादन गरिएको छ । दुबै बाक्यमा जबज भने अटाइएको छैन भने हिजोको नारामा रहेको एमाले  आज हटाइएको छ । ययसअघि एमालेले जति पनि ठूला कार्यक्रम गर्दा नारामा कतै न कतै जबज जोड्ने गरेको थियो ।

ओलीले दाबी गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा भने नेकपा एमालेको नवौँ महाधिवेशनमा तत्कालीन अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको प्रतिवेदनमा समेटिएको बताइन्छ । त्यसो त खनालले यदाकदा सार्वजनिक रूपमै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफूले क्वाइन गरेको दाबी गर्दै आउनुभएको छ । त्यसको पुष्टि हुने कागजपत्र भेटिएको अवस्थामा एमाले अध्यक्ष ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराको बजार प्रतिनिधि (एमाआर)मात्र हुनुहुनेछ ।

महासचिव पोखरेलले हिजो सार्वजनिक गर्नुभएको नारामा भनिएको छ, निर्णायक शक्ति निर्माण  नेकपा (एमाले)को संकल्प, ‘समृद्ध नेपाल, सुखी नेपाली’राष्ट्रको साझा गन्तव्य !’ त्यस्तै आज सार्वजनिक गरिएको नारामा एमाले पनि हराएको छ । नारामा भनिएको छ, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय गन्तव्य ।’ यसले यो नारा अझै सम्पादनको क्रममा रहेको देखिन्छ ।

यसअघि एमालेले विधान महाधिवेशन आउन १९ दिन बाँकी भनेर बनाएको पोस्टरमा पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको तस्बिर हटाएर केपी ओलीको मात्र राखेपछि चर्को आलोचना भएको थियो । केन्द्रीय प्रचार विभागले तयार गरेको उक्त पोस्टर विवादित भएपछि अहिले सामाजिक सञ्ज्लामा विधान महाधिवेशन आउन … दिन बाँकी भन्ने पोस्टर सार्वजनिक भएको देखिएको छैन ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार २२:२९