११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

कैलाश हेलिकप्टरको व्यवसायिक उडान आजदेखी, पहिलो उडान काठमाडौंवाट लुक्लाको हुने

१० चैत, काठमाडौं । युवा व्यवसायीहरुको लगानीमा स्थापना भएको कैलाश हेलिकप्टर सर्भिसेज प्रा.लि.ले आज व्यावसायिक रुपमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीले पहिलो व्यावसायिक उडान काठमाडौं लुक्लाको गर्नै तयारी भएको बताएको छ ।

 

नागरिक उड्डयन प्राधिकरणले चैत्र ९ गते वायुयान संचालन अनुमति (एओसी) प्रदान गरेकोले अब व्यवसायिक उडान सञ्चालन गर्न लागिएको कम्पनीको प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए ।
कम्पनीले विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमनरकार्गो स्लीङअपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धार जस्ता विस्तृत हेलिकप्टर सेवा सञ्चालन गरिने उनले बताए ।
कम्पनीले एयर बसद्धारा निर्मित नयाँ एएस ३५० बी ३ इ जहाज (९एन–एएमएल) हेलिकप्टर खरिद गरी नेपाल ल्याइ सकिएको छ । यस हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ । कम्पनीले निकट भविष्यमा नेपाली आकाशमा अर्को एक जहाज थप गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।

स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । आफ्नो सेवा सुरुवात सँगै नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पुर्याउन सकिने पनि विज्ञप्तीमा जनाइएको छ ।

पर्यटन, बैंकिङ, लगायतका क्षेत्रमा क्रियाशिल युवाहरुको समूहले कैलाश हेलिकप्टर सर्भिसेज स्थापना गरेको हो । समूहमा क्याप्टेन आशिष शेरचन, प्रतापजंग पाण्डे, सिएन पाण्डे, श्रीराम केसी, इश्वरी पौडेल, सुनिल श्रेष्ठ, रमेशकुमार पण्डित, श्रीहरि कुइँकेलगायतका व्यवसायी रहेको पाण्डेले बताए ।
पहिलो चरणमा करिब ३० करोड रूपैयाँ लगानी रहेको र नयाँ जहाज थपसँगै लगानी विस्तार गर्दै जाने तयारी भएको प्रबन्ध निर्देशक पाण्डेले बताए ।

प्रकाशित मिति : March 24, 2018 at 11:46 am