एडिलेडमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सनराइज चिल्ड्रेन एसोसिएसनको २०औँ वार्षिकोत्सव
एडिलेड । सन् २००५ देखी नेपालका विपन्न र जोखिममा रहेका बालबालिकाको शिक्षा, संरक्षण र सशक्तीकरणका लागि काम गर्दै आएको सनराइज चिल्ड्रेन एसोसिएसन इनकर्पोरेटेड (एससिएआई) ले आफ्नो २०औँ वार्षिकोत्सव एडिलेडमा एक बिशेष कार्यक्रम आयोजना गरि मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमको औपचारिक उद्घाटन संस्था की सह–संस्थापक एम्मा टेलर र साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काबाट संयुक्त रूपमा परम्परागत दियो बालेर गरिएको थियो । कार्यक्रममा गैर–नेपाली सहभागीहरू पनि विशेष रूपमा उपस्थित थिए। यस अवसरमा संस्थाको गतिविधिहरूको प्रकाश पारिएको थियो ।
सन् २००५ मा अष्ट्रेलियामा स्थापना भएको र २००७ मा नेपालमा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (आएनजिओ) का रूपमा दर्ता भएको सनराईजले हजारौँ बालबालिकालाई शिक्षा छात्रवृत्ति, पारिवारिक पुनर्मिलन, जीविकोपार्जन सीप विकास र पारिवारिक संरक्षण कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको छ।
कार्यक्रममा संस्थाका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एम्मा टेलरले अष्ट्रेलिया र नेपाल दुवै देशका सहयोगी, समर्थक, दातृ निकाय तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि बालबालिकाको उज्ज्वल भविष्यका लागि प्रतिबद्ध रहिरहने बताइन्।
कार्यक्रम स्थलमा नेपाली हस्तकला सामग्रीहरूको स्टल समेत राखिएको थियो ।
प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १३:२०












