८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नाफासँगै बढ्यो एनएमबि बैंकको प्रतिसेयर आम्दानी

२७ साउन, काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले यो अवधिमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ११.१४ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानीमा पनि ३२.६८ प्रतिशतले बढेर ९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ३.४० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.७२ प्रतिशत पुगेको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ। १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९० पैसा, मूल्य आम्दानी अनुपात १५.१० गुणा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ।

प्रकाशित मिति : 09:38