राससको महाप्रबन्धक को ? छोटो सूचीमा परेका तीन यी हुन
१६ साउन, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धका लागि दरखास्त दिएर प्रस्तुतीकरण गरेका २५ जना मध्ये तीन जना छोटो सूचीमा पर्न सफल भएका छन । पदपूर्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रतिस्पर्धामा सहभागी भएका तीन जाले छोटो सूचीमा नाम लेखाउन सफल भएका हुन ।
मन्त्रालय स्रोतका अनुसार सन्दीप राई, टीका बस्नेत र नवराज महतराको नाम छोटो सूचीमा परेको छ । राससकै उपमहाप्रबन्धक तहका र अन्य केही वरिष्ठ पत्रकारहरूले भने छोटो सूचीमा नाम निकाल्न सकेनन् । छोटो सूचीमा परेका तीन जनामा राई पाँचथरका हुनुहुन्छ, बस्नेत दाङको हुनुहुन्छ भने महतरा हुम्लाको हुनुहुन्छ ।

तीनै जना एमालेको जनवर्गीय संगठन प्रेस चौतारी नेपालमा संगठीत भएर राजनीति गरेको हुनुहुन्छ । नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले दीपक ज्ञवालीलाई महाप्रबन्धक बनाउन चाहेको भए पनि उहाँको छोटो सूचीमै नाम परेन । राई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको निकट मानिनुहुन्छ भने बस्नेत र महतरा एमाले महासचिव शंकर पोखरेलको निकट मानिनुहुन्छ ।

अब मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर तीन जना मध्ये एक जनालाई राससको महाप्रबन्धकको नियुक्ति दिनेछ । मन्त्रालयले असार १ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेर महाप्रबन्धको जागिरका लागि योग्यहरू मध्येबाट आवेदन माग गरेको थियो । सो सूचना अनुसार २५ जनाले दरखास्त दिएका थिए । मन्त्रालयले दरखास्त दिएकाहरूको व्यवासायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तवार्ता असार ३२ देखि साउन २ गतेसम्म गरेको थियो ।
महाप्रबन्धक बन्नका लागि प्रतिस्पर्धामा राससकै कर्मचारीदेखि एमालेका प्रदेश कमिटी सदस्य र कांग्रेसका महाधिवेशन प्रतिनिधिसम्मले दरखास्त दिएका दिएका थिए । प्रेस चाैतारी नेपालका नेता सिद्धराज राईले अवकाश पाएपछि रासस केही सातादेखि महाप्रबन्धकबिहीन छ ।
यो पनि पढ्नुहोस्,
राससको महाप्रबन्धकका लागि २५ जनाको निवेदन, एमाले निकटकाले नियुक्ति पाउने सम्भावना
प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १६:१६












