एमालेका नेता पूर्वमन्त्री केशवराज पाण्डेलाई पितृ शोक
१३ साउन, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज पूर्वमन्त्री समेत रहनुभएको केशवराज पाण्डेलाई पितृशोक परेको छ ।
उहाँका पिता पर्शुराम पाण्डेको सामाखुशी कपुरधारामा रहेको घरमा मंगलबार राति अन्दाजी ९ बजेर ३० मिनेटको समयमा निधन भएको एमाले बागमती प्रदेश कमिटीका सदस्य काशिराज अधिकारीले दैनिकीलाई जानकारी दिनुभयो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ मदानपुर स्थायी घर रहनुभएको स्वर्गीय पाण्डेले जिल्लाको शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
७८ वर्षको उमेरमा क्यान्सर जितेर सक्रिय जीवन बिताउँदै आउनुभएको उहाँको ९४ वर्षको उमेरमा निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अधिकारीले बताउनुभयो ।
स्वर्गीय पाण्डे पनि लामो समयदेखि नेकपा एमालेमा संगठित हुनुहुन्थ्यो । स्वर्गीय पर्शुरामको दुई छोरा र पाँच छोरी रहनुभएको छ।
प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार २२:४०