७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

डेढ अर्ब बैंक घोटलामा प्रधानमन्त्रीको चासो, गभर्नर नेपाललाई बर्खास्त गर्ने तयारी


९ चैत, काठमाडौँ । डेढ अर्ब बैंक घोटलामा प्रधानमन्त्री केपी शर्मा ओली समेत चासो दिएका छन । घोटलाका बारेमा प्रधानमन्त्री ओली र अर्थमन्त्री डा युवराज खतिवडाबीच छलफल समेत भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालको संरक्षणमा त्यती ठूलो बैंकिङ अपराधको फाइल लुकाइएको पाएपछि प्रधानमन्त्रीले चासो दिएका हुन । ओलीले नेपाललाई बर्खास्त गर्नेसम्मको विकल्पमा अर्थमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनताले जम्मा गरेको पैसाको जिम्मा लिने बैंक र ती बैंकको अनुगमन गर्ने राष्ट्र बैंकको भूमिका कस्तो छ भन्ने विषयमा प्रधानमन्त्रीको चासो रहेको बताए ।

उनले विभागिय रुपमा यस विषयमा अर्थमन्त्रीले उचित कदम लिने प्रधानमन्त्रीले विश्वास लिएको बताए । गभर्नर नेपाल योजनावद्ध रुपमा विचौलियाको एजेण्डा बोकेर बैंक डुबाउने अभियानमा सक्रिय भएको भन्दै केही महिना अघि खोजपत्रकारिता केन्द्रले एक रिपोर्ट सार्वजनिक गरेको थियो ।

डेढ अर्ब बैंक घोटलामा गभर्नरको सलंग्नता रहेको र अख्तियारको दबाबमा मात्र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले छानविन गरेको तथ्य नयाँ पत्रिका राष्ट्रिय दैनिकले सार्वजनिक गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको हो । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ०७:४७