१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मधेस प्रदेश सरकारको बजेट ४६ अर्ब ९८ करोड

२ असार, धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ ।

आइतबारको प्रदेशसभाको पाँचाैँ अधिवेशनको दशौँ बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालूतर्फ रु १६ अर्ब ७२ करोड र पूँजीगततर्फ रु ३० अर्ब २६ करोड विनियोजन गरिएको छ । कूल बजेटमा चालू खर्च ३५.८९ प्रतिशत र पूँजीगत खर्च ६४.११ प्रतिशत रहेको छ ।

आन्तरिक राजस्वबाट रु ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरण अनुदान रु सात अर्ब ७२ करोड १९ लाख र सशर्त अनुदान रु चार अर्ब २६ करोड १८ लाख, विशेष अनुदान रु ३९ करोड ४५ लाख, समपूरक अनुदान रु ३५ करोड ८२ लाख र अनुदानमार्फत जम्मा रु १२ अर्ब ६३ करोड ६४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

सङ्घीय राजस्व बाँडफाँटबाट रु १२ अर्ब ३४ करोड ४५ लाखगत वर्षको मौज्दातबाट रु १० अर्ब ३८ करोड दुई लाख ५१ हजार र आन्तरिक ऋणबाट रु दुई अर्ब सङ्कलन हुने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि रु १५ अर्ब ८८ करोड, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ६ अर्ब ४५ करोड, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई रु चार अर्ब ४१ करोड बजेट विनियोजन गरेको छ । त्यसैगरी शिक्षा तथा संस्कृति मन्त्रालयलाई रु तीन अर्ब ५७ करोड, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयलाई रु तीन अर्ब आठ करोड बजेट विनियोजन गरेको छ । कृषि मन्त्रालयलाई रु दुई अर्ब ८३ करोड, वन तथा वातावरण मन्त्रालयलाई रु दुई अर्ब ३७ करोड, युवा, खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयलाई रु एक अर्ब ६८ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री यादवले बताउनुभयो । गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई रु ६४ करोड ८९ लाख र श्रम तथा यातायात मन्त्रालयलाई रु ५७ करोड १४ लाख बजेट विनियोजन गरेको छ ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको बजेट ६.१३ प्रतिशतले वृद्धि भएको छ । सरकारले बजेटमार्फत आत्मनिर्भर र समृद्ध मधेस निर्माणको आधार तयार गर्ने उद्देश्य लिएको बताइएको छ । बजेट प्रस्तुतीकरणका क्रममा अर्थमन्त्री यादवले फजुल खर्च नियन्त्रण गरी, उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गर्दै रोजगारी सिर्जना र समृद्ध प्रदेशको परिकल्पना साकार पार्न बजेट लक्षित गरिएको बताउनुभयो ।

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि चालुतर्फ रु १५ अर्ब ९४ करोड र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड गरी जम्मा रु ४३ अर्ब ८९ करोडको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको आकार आर्थिक वर्ष २०८०/८१ को भन्दा ०.५० प्रतिशतले कम रहेको थियो । यसैगरी आर्थिक वर्ष २०८०/८१ का लागि चालुतर्फ रु १८ अर्ब ५४ करोड र पुँजीगततर्फ रु २५ अर्ब ५७ करोड गरी जम्मा रु ४४ अर्ब ११ करोडको बजेट प्रस्तुत भएको थियो ।

प्रकाशित मिति : June 16, 2025 at 9:20 am