११ असार २०८२, बुधबार | Wed Jun 25 2025

भविष्य निर्माण र खुट्टा तानातान

-निराजन खतिवडा 

अहिलेको परिवेशमा, भविष्य बनाउनेहरूलाई सधैं संशयको नजरले हेर्ने गरेको देखिन्छ । जसले योजना बोकेको छ, ऊ भोलिको राजनीतिमा विकल्प बन्न सक्छ भन्ने डरले हामीले पहिले उसको खुट्टा तान्न थाल्छौं । अनि पछाडि फर्केर ठट्टा गर्छौं, “दुधे बालकले राजनीति के गर्छ?” तर हामी बिर्सन्छौं, यही ‘दुधे बालक’ भन्नेहरूले नै इतिहासमा परिवर्तनका बीउ रोपेका छन् । उमेरको होइन, राजनीति विचारको हुन्छ भन्ने कुरा हामीले सिके जस्तो गर्‍यौं, तर कहिल्यै आत्मसात गरिएन । त्यसैले नेतृत्व जन्मिन पाउँदैन, गुट र स्वार्थको गर्भमै भ्रुण तुहिन थाल्छ ।

राजनीतिमा अब सैद्धान्तिक बहस होइन, समीकरणको बिज्ञापन चलेको छ । व्यक्तिको दृष्टिकोणभन्दा बढी उसको कुन ‘क्याम्प’ छ भन्ने कुराले भूमिका निर्धारण गर्छ । कुनै निर्णय ‘कति सही’ हो भन्ने होइन, ‘कसको पक्षमा’ छ भन्ने आधारमा लिइन्छ । राजनीतिमा सोच घट्दैछ, तर सौदा बढ्दैछ । मूल्य घट्दैछ, तर मिलेमतोको बजार बढ्दैछ । अनि तिनीहरू, जसले अलि फरक सोच्न खोज्छन्, उनीहरूलाई एकोहोरो गुटविहीन ठहरिन्छ, अनि किनारा लगाइन्छ ।

विचारलाई भन्दा व्यक्तिको निकटता हेरेर जिम्मेवारी सुम्पने व्यक्तिवादको चलनले विद्यार्थी राजनीति प्रशिक्षण होइन, प्रदूषण भएको छ । त्यहाँ कुनै कार्यक्रम ‘राजनीतिक शिक्षाको प्रयोगशाला’ होइन, ‘शक्ति प्रदर्शनको रिहर्सल’ हुन्छ । अनि हामी त्यही प्रदूषणबाट प्रशिक्षित भएर सफा राजनीतिको सपना देख्न सम्भव हुन्छ त? जब विचार बेचिन्छ, तब सिद्धान्तको कफन बन्छ । अनि हामी त्यसैको नाममा नेतृत्व खोज्न थाल्छौं र मञ्चमा ताली, भित्तामा फोटो, र सडकमा नारामात्र बाँकी रहन्छन् ।

हामीले संगठनको उद्देश्य बिर्सिएर संगठनलाई दलको उपक्रम बनाइदियौं । संगठन अब स्वतन्त्र निर्णयको केन्द्र होइन, निर्देशन पालन गर्ने शाखा भयो । अनि जब कुनै युवा स्वतन्त्र ढंगले निर्णय गर्न खोज्छ, ऊ ‘संघर्षको पृष्ठभूमि छैन’ भनेर हरेक कोणबाट खुट्टा तानिन्छ । उसलाई राजनीति होइन, राजनीतिक हिसाब-किताब सिकाइन्छ । ऊ नेतृत्वमा होइन, लहैलहैमा लाग्न बाध्य हुन्छ ।

राजनीति अब ‘प्रश्न गर्नेलाई हटाउने’ प्रणालीमा बदलिँदैछ । विचार राख्नेको विरोध हुन्छ, किनभने उसले बनेको सेटअप हल्लाउँछ । स्वार्थीहरूका लागि राजनीतिमा नयाँ सोच खतराजस्तै लाग्छ । त्यसैले पुराना संरचनाले नयाँ स्वरलाई सुनिरहेका छैनन्, दबाइरहेका छन् । तर परिवर्तन दबाएर रोकिँदैन । कहिल्यै रोकिएको थिएन, रोकिने पनि छैन ।

जब साँचो अठोट बोकेको युवा राजनीतिमा उत्रिन्छ, उसलाई न गुटको आड हुन्छ, न सत्ताको सहारा । तर उससँग एउटा कुरा हुन्छ – संकल्प । त्यो संकल्प, जुन टुक्रिँदैन, झुक्दैन, बिक्दैन । अनि यही संकल्पले राजनीतिलाई फेरि मूल अर्थमा फर्काउन सक्छ, जहाँ नेतृत्व सेवा हो, सौदा होइन ।

अब समय फेरिएको छ । नेतृत्व उमेरले होइन, असरले नापिन्छ भन्ने सन्देश दिनुपर्ने बेला आएको । जो सोच्न सक्छ, उसले नेतृत्व गर्नुपर्छ । जो देख्छ, उसले बोलेर मात्र होइन, मार्ग बनाइदिनुपर्छ । किनभने अब राजनीतिलाई नयाँ पुस्ताको भीड होइन, विचार चाहिएको छ । आँट छैन भनेर पछि हट्नेहरू धेरै छन्, अब जिम्मेवारी लिने तयार चाहिएको छ ।

युवाले राजनीति गर्नु अपराध होइन । अपराध त राजनीति गरिरहँदा आवाज चुँडिनु हो । अपराध त भविष्य बोकेकाहरूको आँट तोड्नु हो । अनि यदि राजनीतिमा अझै परिवर्तन सम्भव छ भने, त्यो सम्भावना आँट गर्ने युवाको आँखामा बाँकी छ, जसको सपना शक्ति होइन, उत्तरदायित्व हो ।

त्यसैले अब नेतृत्वमा उम्रिनेलाई ‘पकाइएन’ भनेर होइन, ‘पकाइँदैछ’ भनेर हेरौं । खुट्टा तान्न होइन, काँध थाम्न सिकौं । किनभने राजनीतिमा आज आवश्यकता सहमतिका होइन, सहयात्राका आवाजहरूको हो- जसले मुलुकलाई होइन, मनोवृत्तिलाई बदल्न सकून् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १०:५६