३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

नाट्टाको नेतृत्वमा पाण्डे, कांग्रेस र एमालेको प्यानल सोत्तर

३० साउन, काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्व भरतजंग पाण्डेको हातमा पुगेको छ। सोल्टी होटलमा सम्पन्न नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।

त्रिपक्षीय प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत र जिस्वन तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरिन् ।

निर्वाचनमा पाण्डे समूहले सबै पदमा जित निकाल्दै नाट्टाको नयाँ कार्यसमितिमै वर्चस्व कायम गरेको छ । एमाले र नेकपाको प्यानलबाट जिस्वन तुलाधर श्रेष्ठ तथा नेपाली कांग्रेसको प्यानलबाट युविका भण्डारी अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका थिए। त्यस्तै, ‘तेस्रो धार’का रूपमा प्रस्तुत भएको समूहमा रहेका अधिकांश उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक रहेको बताइएको थियो।

एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन तथा ट्राभल व्यवसायमा दुई दशकभन्दा लामो अनुभव छ। निर्वाचनपछि उनले नाट्टालाई अझ पारदर्शी, प्रविधिमैत्री र सदस्यकेन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

तस्बिरमा क्रमशः पाण्डे, तुलाधर र भण्डारी ।

पाण्डेले आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा सुशासन र पारदर्शिता, सदस्यहरूको बृहत्तर सहभागिता, ‘डिजिटल नाट्टा’मार्फत संस्थाका सेवा तथा गतिविधिलाई आधुनिक बनाउने, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने र पर्यटन व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक अवरोध हटाउन सरकारसँग प्रभावकारी पहल गर्ने विषयलाई राखेका छन्।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहकै सुनिल शर्मा २५१ मतसहित विजयी भए। उनले विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गरे। उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मतसहित निर्वाचित भइन्। महासचिवमा राजकुमार देवकोटाले १५८ मत प्राप्त गर्दै जित हासिल गरे भने सचिवमा रमेश पराजुली १९५ मतसहित विजयी भए।

त्यस्तै, कोषाध्यक्षमा डिकी शेर्पाले २०८ मत प्राप्त गरी निर्वाचित भइन्। सह–सचिव/सह–कोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित विजयी भए। आठ सदस्यका लागि भएको निर्वाचनमा स्मारिका थापाले सर्वाधिक २११ मत प्राप्त गरिन्। प्रकाश लोहनीले २१०, नवीन गुरुङले २०५, दिनेश मैनालीले १८९, सुमनलाल श्रेष्ठले १८८, स्वस्तिका प्रधानले १८४, संकेत दाहालले १६५ र विभास पौडेलले १५८ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भए।

नाट्टाको पछिल्लो निर्वाचनलाई पर्यटन व्यवसायीको संगठनभित्र देखिएको राजनीतिक ध्रुवीकरणको परीक्षणका रूपमा समेत हेरिएको थियो। कांग्रेस, एमाले–नेकपा र रास्वपा समर्थक धारबीचको प्रतिस्पर्धामा पाण्डे समूहले सबै पदमा जित निकाल्दै संगठनभित्र आफ्नो प्रभाव बलियो बनाएको छ।

नवनिर्वाचित नेतृत्वका लागि अब पर्यटन व्यवसायीले भोगिरहेका नीतिगत समस्या समाधान, अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सेवाको विस्तार र सदस्यहरूको व्यावसायिक हित संरक्षणलाई प्रभावकारी रूपमा अघि बढाउने चुनौती रहेको छ।

प्रकाशित मिति : August 15, 2026 at 11:25 am