४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

जीवनरक्षक जनशक्तिसहित बालाजु पौडी पोखरी सञ्चालनमा

१६ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले दश वर्षपछि आगामी आइतबारदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवनरक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिनुभयो ।

विक्रम संवत् २०७२ को भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनःनिर्माणका क्रममा रहेकाले सञ्चालनमा आउन सकेको थिएन । पौडी पोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले नेपाल पौडी सङ्घसँग सम्झौता समेत गरिसकेको छ । आयोजनाका प्रमुख नवराज थापा र सङ्घका महासचिव ईश्वरकुमार कार्कीका बीच सम्पन्न सम्झौताबमोजिम सङ्घले एक वरिष्ठ जीवनरक्षक, एक महिला अनिवार्यसहित तीनजना जीवनरक्षक तथा एकजना पानी प्रशोधन प्राविधिकसहित पाँच जना जनशक्ति उपलब्ध गराउने छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १७:११