आज बजेट सार्वजनिक हुने, कर्मचारी र व्यवसायी उत्साहित
१५ जेठ, काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्नुहुने कार्यसूची छ ।
अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।
बजेटले कर्मचारीको तलब बढ्ने र व्यवसायीका लागि अनुकुल हुनेगरी करको दर हेरफेर हुने हल्ला चलेपछि उनीहरू उत्साहित देखिएका छन । बजेटका विषयमा कतिपय सूचना मन्त्रालयका अधिकारीले चुहाएर एक सातादेखि नै सञ्चार माध्यमहरूले बजेटमा यो आउने र त्यो नआउने भन्दै समाचार प्रकाशन गरिरहेका छन । सञ्चारमाध्यमका लागि सूचना चुहाउनु महत्वको विषय भए पनि अर्थ मन्त्रालयका लागि भने त्यो राम्रो मान्न सकिन्न ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार ०८:३५







