भोलि एमालेको ‘यूथ सेलिब्रेसन’, ओलीको सम्बोधन बाहेक यस्ता छन अन्य कार्यक्रम
१० वैशाख, काठमाडाैँ । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ मञ्च विशेष विशेष खालको बनाउने भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा मनाउन एमालेले काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दै छ । भोलिको कार्यक्रम सबै रूपले विशेष हुने कार्यक्रम समन्वय संयोजकको भूमिका निर्वाह गरिरहनुभएका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले बताउनुभयो ।
भोलिको कार्यक्रमको मञ्च व्यवस्थापनदेखि कार्यक्रमसम्म विगतका कार्यक्रम भन्दा फरक हुने उहाँले बताउनुभयो । भोलि दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रमको लागि मञ्च निर्माणको काम सुरु भएको छ । आज रातभरिमा मञ्च बन्ने ढुङ्गेलले जानकारी दिनुभयो ।
कार्यक्रमको लागि १ हजार स्वयंसेवक परिचालन हुने भएका छन् । कार्यक्रमभर २० भन्दा बढी स्थानमा स्वयंसेवक परिचालन हुने छन् । भोलिको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्नु हुने छ । बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ ।
कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ ।
प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार २०:०५