रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, आरजु राणापछि वरियता
१० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रीमा सिफारिस गर्नुभएको रघुजी पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहप्रवक्ता बसन्तप्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा पन्तलालाई शिक्षा मन्त्रीमा नियुक्त गरिएको जानकारी दिनुभएको छ ।
विज्ञप्ति अनुसार पन्तको वरियता परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भन्दा पछाडि राखिएको छ । पन्त वरियताको ८ नम्बरमा पर्नुभएको छ । राणा ७ नम्बरमा हुनुहुन्छ । राणा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ भने पन्त एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँहरू दुबैजना समानुपतिक सांसद हुनुहुन्छ । शिक्षामन्त्री विद्या भट्टराईको राजिनामापछि खाली रहेको शिक्षा मन्त्रीमा पन्त नियुक्त हुनुभएको हो ।
उहाँको सपथ भोलि एमालेको युथ सेलिब्रेसनपछि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो पटक संसदीय समितिमा पत्रकार निषेध गर्नुपर्छ भनेर चर्चामा रहेका पन्त शिक्षा मन्त्रीमा नियुक्त हुनुभएको हो ।
प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १८:३४