१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै राष्ट्र बैंक

८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ५८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।

बैंकले यो रकम २०८२ वैशाख १६ गतेदेखि २०८३ वैशाख १६ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकमा ४६ करोड ४० लाख, विकास बैंकमा ८ करोड ७० लाख र वित्त कम्पनीमा २ करोड ९० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी वैशाख १० गतेभित्र ब्याजदर सम्बन्धि प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको र बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खूद तरल सम्पत्ति अनुपात कायम गरेको हुनु पर्नेछ ।

यस्तै, कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनु पर्ने  तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।

प्रकाशित मिति : April 21, 2025 at 3:52 pm