११ चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

मलाई पनि समाजमा ‘भैँसी लड्यो है माया’ भनेर नै चिन्नुहुन्छः विमोचना लोम्जेल

-सदिक्षा आचार्य

विमोचना लोम्जेल गीतकार तथा संगीतकार हुनुहुन्छ । उहाँ दार्जलिङमा जन्मिनुभयो र हुर्किनुभयो । उहाँको सांगितिक यात्रा पनि दार्जिलिङबाटै सुरु भयो । पारिवारिक माहौल नै संगीतक रहेको लोम्जेलको आफ्नै संगीत सिकाउने स्कुल पनि रहेको छ ।

संगीत समेटिएको लोम्जेलको पारिवारिक पृष्ठभूमिले उहाँलाई संगीतको संसारमा समावेश गराइदियो । फलस्वरुप उहाँमा संगीतसंस्कार विकसित हुँदै गयो । संगीत बाहेक पनि कुनै पेशामा जाने अवसर प्राप्त भएपनि कुनै पेशामा नजाने उहाँको अडान थियो ।

लोम्जेलमा संगीत सिक्ने र सिकाउने होड दुबै छ । उहाँले कोभिड १९को संक्रमण दर विश्वबाट घट्दै गइरहेका बेला बालबालिकासँग अत्यन्तै नजिक हुने मौका पाउनुभयो । सोही बेलापछि बालबालिकाहरुसँग बस्ने, घुलमिल हुने अवसर प्राप्त गर्नुभयो । फलस्वरुप उहाँले आफुमा रहेको संगीतको ज्ञान समेत उनीहरुलाई बाँड्न चाहानुभयो । ‘बच्चाहरुसँग घुलमिल हुँदा उनीहरुलाई संगीत पनि सिकाउँ कि जस्तो लाग्यो अनि संगीत सिकाउने स्कुल खोलेँ’, लोम्जेलले बताउनुभयो । उक्त स्कुलमा उहाँले दर्जनौँ बच्चाहरुलाई संगीत सिकाइरहनुभएको छ ।

dainiki.com

लोम्जेलले भैँसी लड्यो है माया भन्ने कालजयी गीत गाएर ‘भ्वाइस अफ नेपाल सिजन २’ मा छनौट समेत हुनुभएको थियो । उक्त कालजयी गीत भैँसी लड्यो है माया डेजी बराइलीले गाउनुभएको हो । उहाँ लोम्जेलकी आमा समेत हुनुहुन्छ । ‘भ्वाइस अफ नेपालले नै मलाई सांगितिक क्षेत्रको एउटा उचाइमा पुर्यायो’, भावुक हुँदै उहाँले भन्नुभयो, ‘ म भ्वाइस अफ नेपाल प्रति आभारी छु ।’

अहिले लोम्जेल नेपालयमा प्रत्येक अंग्रजी महिनाको अन्तिम शुक्रबार र शनिबार प्रस्तुत हुँदै आएको पलेँटीमा आफ्नो प्रस्तुती दिएर दार्जिलिङ फर्किसक्नुभएको छ । पलेँटीमा लोम्जेलका पिता चन्दन लोम्जेल र आमा डेजी बराइलीसँगै उहाँले गीतकार नोरदेन रुम्बाको गीत गाउनुभयो । उहाँले चाँडै आफ्नो नयाँ गीत सार्वजनिक हुने कुरा समेत बताउनुभयो ।

नेपालमा मात्रै नभएर हरेक ठाँउमा संगीतलाई मुल पेशाकै रुपमा स्वीकार्न गाह्रो स्थिती रहेको लोम्जेलले बताउनुभयो । ‘मलाई अझै पनि दार्जिलिङमा केही मान्छेहरुले के गरिरहनुभएको छ भनेर सोध्नुहुन्छ’ , उहाँले भन्नुभयो, ‘संगीत गर्दैछु, म गीत गाउँछु भन्दा उहाँहरु अकमक्क परेको जस्तो गर्नुहुन्छ ।’ समाज संगीतलाई डाक्टर, इन्जिनियर जस्तो स्थापित पेशा भनेर मान्न तयार छैन् ।

पछिल्लो समय सामाजिक संजाल नै समाजको नयाँ स्वरुप भएको उहाँले बताउनुभयो । ‘ मैले मेरा दैनिकी सामाजिक सञ्जालमा नराख्दा मान्छेहरु तिमी त हराएर जाउला है समेत भन्नुहुन्छ’, लोम्जेल सोचमग्न हुँदै दैनिकीसँग प्रश्न गर्नुभयो , के मैले गरेका हरेक प्रस्तुती र हरेक कुरा सामाजिक सञ्जालमा राख्न जरुरी छ ?

लोम्जेलसँगको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार १०:२४