३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

एडिलेडमा आइतवार सोनाम ल्होसार मनाईदै, के के हुदैछ ? के हो सोनाम ल्होसार ?

अष्ट्रेलिया । २८६१ औ सोनाम ल्होसारको उपलक्ष्यमा तामाङ सोसाईटी अफ साउथ अष्ट्रेलियाको आयोजनामा २ फ्रेब्रुअरी आइतवार एडिलेडमा विशेष कार्यक्रम हुने भएको छ । स्थानिय एभरेष्ट इभेन्ट सेन्टरमा साझ ४ बजेबाट कार्यक्रम शुरु हुने सोईसाईटीकी महासचिव रस्मी तमाङले बताउनुभयो । कार्यक्रममा तमाङसेलो सहित नेपालमा समेत धेरै दुर्लभ नै मानिएको ऐतिहासिक र सास्कृतिक महत्व राख्ने भाक्पा नृत्य प्रदर्शन गरिने छ । यस नृत्यलाई गुरु रिम्पोचेको नृत्यका रुपमा लिने गरिन्छ ।

सोनाम ल्होसार चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने तमाङ तथा हेल्मो समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गरेको छ । ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । मञ्जुश्री पात्रोअनुसार गत बिहिवारबाट सर्प बर्षमा प्रवेश गरेको छ । यो २८६१ औ सोनाम ल्होछार हो ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ समुदायले माघ कृष्ण औँसीका दिन बेलुकी घर घरमा दीपावली गरी ल्होछारको नयाँ वर्षलाई स्वागत गर्छन् । ल्होछारको दिनमा बिहानै स्नान गरी घर सफा सुग्घर गरी पूजाआजा गरेर मान्यजनबाट टीका एवं आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ | भने यस दिनमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् ।

नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक-फरक समयमा ल्होछार मनाउने चलन छ ।

सोनाम ल्होसार सोसाइटी २०१३ देखी एडिलेडमा सोनाम  ल्होछार मनाउदै आएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १२:०८