१० फाल्गुन २०८१, शनिबार | Sat Feb 22 2025

हिमालयन बैंकले कर्जा असुलीमा गुण्डा प्रयोग गरेको पुष्टि, यस्तो छ गोप्य सम्झौता

-माधवप्रसाद तिवारी

१७ माघ, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त हिमालयन बैंक लिमिटेडले कर्जा (ऋण) असुलीका लागि ‘गुण्डा’ परिचालन गरिरहेको प्रमाण दैनिकीमा प्राप्त भएको छ । बैंकहरूले कर्जा असुलीका लागि गुण्डाहरू भाडामा लिने गरेको बारेमा लामो समयदेखि चर्चा र परिचर्चा हुने गरेको भए पनि त्यसको प्रमाण भने सार्वजनिक भएको थिएन । बैंकहरूले कर्जा असुलीका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ र बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली २०५९ विपरीत गुण्डाहरूसँग छुट्टै सम्झौता गरेर धितोमा रहेको सवारीसाधन कब्जा गर्ने गरेका छन् । यसमा हिमालयन बैंक अग्रस्थानमा देखिएको छ ।

हिमालयन बैंकले कानुन विपरीत लिखित सम्झौता गरेरै सवारी साधन कब्जाका लागि अख्तियारी दिएका सञ्जिव लामाले रूपन्देहीको देवदह नगरपालिकाको खैरहनीमा बीच सडकमा गुडिरहेको गाडी अपहरणको शैलीमा बाटो छेकेर रोकेका थिए । बैंकसँग कुनै सरोकार नै नभएको बाग्मती प्रदेश ०१–०२६ च २१४६ नम्बरको गाडी कब्जा गरेर साँचो र कागजपत्र लुटेपछि यो विषय बाहिर आएको हो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकले गुण्डा प्रयोग गर्ने कार्य गैरकानुनी भएकाले यसको उपचार प्रहरी मार्फत खोज्नुपर्ने बताउनुभयो । उहाँले दैनिकीसँग भन्नुभयो, ‘गैरकानुनी कुरा भएकाले यस विषयमा प्रहरीकोमा जानुपर्छ । यस अरू थप केही भन्नुपर्छ जस्तो लाग्दैन ।’

बैंकले काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका लागि छुट्टाछुट्टै कमिसनको दररेट नै तोकेर करार गरी गुण्डा परिचालन गरेको छ । बैंकले ऋण प्रवाह गरेर खरिद भएका सवारी साधनहरू कब्जा गर्नका लागि  कानुन हातमा लिएर छुट्टै गुण्डाको प्रयोग गर्ने गरेको हो । सवारी साधन कब्जा गर्न गुण्डा प्रयोग गरेर सवारीहरू कब्जा गर्नका लागि बैंकले २३ हजारदेखि ४६ हजार रूपैयाँसम्म कमिसन समेत दिने गरेको प्रमाणबाटै पुष्टि भएको छ । यसरी सवारी साधन कब्जा गर्न लगाएर बैंकले नै सुपारी बाँड्नु वित्तीय अपराध हो ।

dainiki.com

हिमालयन बैंकले रामेछापका लामासँग सवारी साधन कब्जाका लागि गरेको सम्झौतापत्र दैनिकीको खोजबाट प्राप्त भएको छ । सम्झाैतामा भनिएको छ, ‘हिमालयन बैंक लि. र सन्जिव लामाबीच सम्पन्न भएको कर्जाको धितो सुरक्षण स्वरूप बैंकको नाममा रहेको सवारी साधन, हेभी इक्युपमेन्ट, मेशिनरी तथा उपकरण कब्जामा लिई बैंकमा बुझाउन सहयोग गर्ने सम्बन्धी सम्झौतापत्र ।’ सम्झौतापत्रमा बैंकको तर्फबाट कर्जा असुली विभागका प्रमुख सरोज श्रेष्ठ र सवारी साधन कब्जामा लिनका लागि मञ्जुर भएका सन्जिव लामाले हस्ताक्षर गरेका छन् । २०८१ मंसिर २५ गते भएको सम्झौताको साक्षीमा भने हिमालयन बैंककै कर्मचारी सन्जिव श्रेष्ठ र विष्णु पाण्डेले हस्ताक्षर गरेका छन् ।

बैंकले अपराध गरिरहेको पुष्टि उसैको सम्झौतापत्रबाट हुन्छ । प्रथम पक्ष भनिएको बैंक र द्वितीय पक्ष भनिएको लामाको बीचमा भएको सम्झौतामा लामा बैंकको एजेन्ट वा कर्मचारी केही नमानिने र सम्बन्ध सम्झौता अनुसारमात्र कायम हुने उल्लेख गरिएको छ । सम्झौतामा भनिएको छ, ‘द्वितिय पक्ष प्रथम पक्षको एजेन्ट वा कर्मचारी मानिनेछैन । निजले आफूलाई प्रथम पक्षको एजेन्ट र कर्मचारीका रूपमा प्रस्तुत गर्न पाउनेछैन । द्वितीय पक्षको प्रथम पक्षसँगको सम्बन्ध यसै सम्झौता बमोजिम मात्र रहनेछ ।’ सम्झौतापत्रमा उल्लिखित यसै वाक्यबाट बैंक स्वयं आफूलाई अपराध कर्म गरिरहेको पुष्टि गर्छ ।

बैंकले दिन्छ गुण्डाका लागि ४६ हजार कमिसन

बैंकले काठमाडौँ उपत्यकाभित्रको थानकोटदेखि धुलखेलसम्म हलुका सवारी साधन कार, जीप आदि कब्जा गरी बुझाएमा २३ हजार रूपैयाँ दिने । बस, ट्रक र ट्रयाक्टर कब्जा गरेमा २८ हजार सात सय ५० रूपैयाँ दिने । हेभी इक्युपमेन्ट कब्जा गरी बुझाएमा ४० हजार २ सय ५० रूपैयाँ कमिसन दिने उल्लेख गरिएको छ । त्यस्तै काठमाडौँ उपत्यका र धुलिखेलभन्दा बाहिर सवारी साधन कब्जा गरी बुझाएमा हलुका सवारी साधन कार, जीप आदि कब्जा गरी बुझाएमा २८ हजार ७ सय ५०रूपैयाँ दिने उल्लेख छ । बस, ट्रक र ट्रयाक्टर कब्जा गरेमा ३४ हजार ५ सय रूपैयाँ र हेभी इक्युपमेन्ट कब्जा गरी बुझाएमा ४६ हजार रूपैयाँ कमिसन दिने उल्लेख गरिएको छ । यो कमिसन सवारी साधन कब्जा गरेर बैंकमा बुझाएको मितिले १५ दिनभित्रमा भुक्तानी हुने उल्लेख गरिएको छ ।

कर्जा असुलीका लागि पर्याप्त कानुनी बाटो र पक्रियाहरू विद्यमान रहेका छन् । तर हिमालयन बैंकले बैंकिङ प्रणालीमै गम्भीर प्रश्न उठ्ने गरी कर्जा असुलीमा करार सम्झौता गरेर नै गुण्डा प्रयोग गरेको छ । नेपाल राष्ट्र बैंकको जानकारी र बैंकिङ प्राणाली भन्दा बाहिर गएर हिमालयन बैंकले गरेको यस्तो काम गैरकानुनी र दण्डनीय रहेको नेपाल राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । उनीहरूले प्रमाणसहित नै विषय बाहिर आएकाले यसबारेमा राष्ट्र बैंकले छलफल गरेर निर्णय लिने बताए ।

राष्ट्र बैंक :  गुण्डा परिचालन गर्ने कुरा कल्पना पनि गर्न सकिन्न

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता रामु पौडेलसँग दैनिकीले घटनाका बारेमा चासो राख्दा ऋण प्रवाह र असुली दुबैका बारेमा प्रष्ट कानुनी व्यवस्था भएका कारण बाहिरी व्यक्तिको प्रयोग गरेर कानुन हातमा लिएर जबर्जस्ती सवारी साधन नियन्त्रणमा लिन नपाइने बताउनुहुन्छ । उहाँले बैंककै कर्मचारीले समेत एक्लै सवारी नियन्त्रणमा लिन नपाइने भन्दै झन कानुन हातमा लिएर गुण्डा परिचालन गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताउनुभयो । उहाँले सवारीसाधन नियन्त्रणमा लिनुपर्ने भए नियम अनुसार ट्राफिक प्रहरीसँग समन्वय गर्नुपर्ने बताउनुभयो ।

dainiki.com

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकले गुण्डा प्रयोग गर्ने कार्य गैरकानुनी भएकाले यसको उपचार प्रहरी मार्फत खोज्नुपर्ने बताउनुभयो । उहाँले दैनिकीसँग भन्नुभयो, ‘गैरकानुनी कुरा भएकाले यस विषयमा प्रहरीकोमा जानुपर्छ । यस अरू थप केही भन्नुपर्छ जस्तो लाग्दैन ।’

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले यस्ता कुरा रोकिनुपर्ने बताउनुभयो । उहाँले गुण्डा प्रयोग गरेर कर्जा असुल्नु सार्वजनिक अपराध हुने बताउनुभयो । दैनिकीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘बैंकहरूको हितको विषय भनेर यस्तो विषयमा हेलचक्राइ गर्नु हुँदैन । यो सार्वजनिक अपराधको विषय हुन्छ । यसलाई नीतिसम्मत मान्न सकिदैन । कर्जा लिनेहरूलाई न्याय र कानुन छ भन्ने अनुभूति दिलाउनु पर्छ । कसैले पनि कानुन हातमा लिन मिल्दैन ।’

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहनुभएको नेपाल बैंकका पूर्वअध्यक्ष वासुदेव अधिकारीले कुनै पनि वित्तीय ऐन र कानुनले नचिन्ने काम गर्न नमिल्ने बताउनुभयो । उहाँले दैनिकीसँग भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ र बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली २०५९ लगायत कुनै पनि ऐन, नियम र कार्यबिधिले कर्जा असुलीका लागि गुण्डा परिचालन गर्ने कुराको कल्पना समेत गरेको छैन । कर्जा असुलीका लागि छुट्टै निकाय समेत स्थापना गरिएको छ ।’

यस्तै अर्थविद् डा चन्द्रमणि अधिकारीले बैंकहरूले कर्जा उठाउनका लागि गुण्डा प्रयोग गर्नुभन्दा पहिला कर्जा प्रवाहकै समयमा ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले दैनिकीसँग कुरा गर्दै भन्नुभयो, ‘बैंकहरूले पहिले त कर्जा दिँदा नै ख्याल गर्नुपर्छ । कर्जा प्रवाह गर्दा नै उसको स्रोत सुनिश्चित भएको हुनुपर्छ । अहिले परिस्थिति फरक भएको छ । जग्गाको कारोबार रोकिँदा भुक्तानी क्षमता पनि कम भएको छ । बैंकहरूको खराब कर्जा पनि बढेको छ । उनीहरू पनि दबाबमा हुनसक्छन् । तर बैंकहरू दबाबमा छन भन्दैमा कानुनी मर्यादा विपरीत हुने काम ठीक भन्न सकिँदैन । उनीहरू वित्तीय अनुशासनमा रहनुपर्छ । कर्जा असुलीका लागि कानुनले निर्दिष्ट गरेको भन्दा अन्य उपाय अपनाउनु हुँदैन र मिल्दैन।’

यो पनि पढ्नुहोस्

कर्जा असुलीमा हिमालयन बैंकको गुण्डा परिचालन, अपहरणको शैलीमा यसरी समातिन्छन् ऋणी

अर्थविद् ज्ञानेन्द्र अधिकारीले बैंकहरू गुण्डाको प्रयोग गर्नु घोर अमानवीय काम भएको बताउनुभयो । उहाँले दैनिकीसँग भन्नुभयो, ‘सामान्यतया बैंकिङ प्रणालीमा गुण्डा प्रयोग गर्नु नै अपराध हो । यो कानुन विपरीत मात्रै होइन अमानवीय काम पनि हो । अर्थशास्त्रको विद्यार्थीको नाताले भन्नुपर्दा यो त गम्भीर अपराध हो । यस्तो विषयलाई सूचनामा लिएर नेपाल राष्ट्र बैंकले चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याउनुर्छ ।’

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना कर्जा प्रवाहमा भएको सम्झौता उलङ्घन गरी बैंकहरूले गुण्डा प्रयोग गर्नु दण्डनीय अपराध भएको बताउनुहुन्छ । उहाँले दैनिकीसँग कुरा गर्दै नेपालको संविधानले नै उपभोक्ताको हक माैलिक अधिकारको रूपमा सुनिश्चित गरेको स्मरण गर्दै कानुन हातमा लिएर उपभोक्ता माथि गरिने अपराधमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पनि कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बैंकहरूले रिकभरी डिपार्टमेन्टका नाममा गुण्डाहरू भर्ती गरेर उपभोक्तामाथि ज्यादती गरिरहेका छन । धम्की दिने र अपहरणको शैलीमा गाडीको साँचो र कागजपत्र नियन्त्रणमा लिने काम बैंकले परिचालन गरेका भनेर कानुनले नचिन्ने व्यक्तिहरूले गर्नु अपराध हो । यसमा केन्द्रीय बैंकले मात्र नभई प्रहरीले समेत अनुसन्धान गरेर कारबाही गर्नुपर्छ ।’

यस्तो छ सम्झाैतापत्र 

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १५:२४