मोतियाविन्दुले टालिएको आँखा दश वर्षपछि खुल्ने भएपछि दंग छन मुसहर समूदायका नागरिक
१६ माघ, महोत्तरी । ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।
पछिल्ला १० वर्षयता मोतियाविन्दुले आँखा टालिदा अँध्यारो भएको संसार अहिलेको शल्यक्रियाले ज्योति फर्कने कुराले दुलारीको खुसीको सीमा छैन । देब्रे आँखाको शल्यक्रिया गरिएकी दुलारीको केहीपछि दाहिने आँखाको पनि गरिनुपर्ने चिकित्सकले सुझाएका उहाँले बताउनुभयो । केही दिनपछि नै आँखाको पट्टी हटाएपछि लगाउन कालो चश्मा पाउने कुरा पनि उहाँले बताउनुभयो ।
दुलारीजस्तै सोही वस्तीका ७० वर्षीय रामचन्दर सदा पनि आँखाको मोतियाविन्दु हटाउने शल्यक्रियापछि अब उज्यालो संसार देखिने आशले दङ्ग हुनुहुन्छ । “हेर्नुस् हजुर, हामी गरिबले यो अवसर पाउनु भनेको भगवान् भेटेजत्तिकै हो”, नेपाली राम्रो बोल्न जान्ने रामचन्दरले भन्नुभयो, “सित्तैमा हामी मुसहरलाई यो मौका हतपत्त कहाँ जुर्छ र हजुर, यो जसले गराइदिनुभयो, उहाँलाई भगवान्ले हेरुन् ।” मुसहर मधेसमा स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिक अवसरबाट निकै पछि परेको अति सीमान्तकृत जाति समुदाय हो । दुलारी र रामचन्दरजस्ता अतिविपन्न परिवारका आँखाको समस्या समाधान गरिदिन अहिले बर्दिबास आँखा अस्पतालको पहलकदमीमा इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल नामक संस्थाले आर्थिक स्रोत जुटाइदिएको हो ।
![](https://dainiki.com/wp-content/uploads/2025/01/Musahar-Basti.jpg)
सोमबार र मङ्गलबार गरी एक सय जनाको आँखाको मोतियाविन्दुको जालो हटाउने शल्यक्रिया बर्दिबास जनसेवा अस्पतालमा सम्पन्न भएको छ । शल्यक्रिया गरिन आँखाका बिरामी यसपटक अत्यन्त गरिब वस्तीबाट परेका दुईदिने यो शिविरको बर्दिबास आँखा अस्पतालका तर्फबाट समन्वय गर्नुहुने मकुन्दप्रसाद पौडेलले बताउनुभयो ।
“आफ्नै आर्थिक स्रोतले आँखाको उपचार र शल्यक्रिया गराउनै नसक्ने अत्यन्त विपन्न परिवारका सदस्यले यसपालि अवसर पाएका छन्”, पौडेल भन्नुहुन्छ, “आँखाका बिरामीको सर्वेकै क्रममा अत्यन्त गरिब बस्तीमा मोतियाविन्दुका बिरामी भेटेपछि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालसँग अनुरोध गरिएको हो, सो संस्थाले सदासयतापूर्वक प्रस्ताव स्वीकार गरिदिँदा एक सय जनाले आँखाको ज्योति पाएका छन् ।” दुईदिने शिविरमा शल्यक्रिया गरिनेहरू अधिकांश बर्दिबास–१०, ११ खयरमाराका अतिविकट चुरेकाछका बस्तीका गरिब परेका पौडेलले बताउनुभयो । खयरमारा बर्दिबास मुख्यचोकबाट ४० किलोमिटर दूरीमा पर्छ ।
“हामी भनिन त बर्दिबास नगरकै छौँ, तर बिरामी पर्दा हामीले पहिले पुग्ने ठाउँ ४० किलोमिटर छिचोलेर बर्दिबास चोक नै हो”, बर्दिबास–१० की ७० वर्षीया जानकी यादव भन्नुहुन्छ, “धन्न यी डाग्डरबाबुले हाम्रो सम्झना गरेछन् र आँखाको जालो हटाउने मौका पाइयो ।” सोही बस्तीका ७५ वर्षीय सुरज यादव पनि मोतियाविन्दुको शल्यक्रियापछि फेरि संसार देखिने आसमा दङ्ग हुनुहुन्छ ।
शिविरमा जिल्लाकै रामगोपालपुर, जलेश्वर र मनराशिशवा नगर क्षेत्रका मोतियाविन्दुका बिरामी पनि लाभान्वित भएका छन् । ‘सोच्ने नै छली जे मुनायल आँइखक पर्दा फेरु उघरत’ (सोचेकै थिइनँ, जालोले ढाकेको आँखाको पर्दा फेरि उघ्रला) रामगोपालपुर–४ की ६५ वर्षीया कमोधियादेवी बरही भन्नुहुन्छ, ‘दश साल स खेपी रहल अन्हारक पीडा आब सब भुलागेल’ (दश वर्षदेखि खेप्दै आइएको अँध्यारोको पीडा अब सबै बिर्सियो) ।
प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १०:३६