विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा आराजु राणा देउवाको फोन
१ माघ, काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखिरहेकै बेला मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग परराष्ट्रमन्त्री डा आराजु राणा देउवाले फोनवार्ता गर्नुभएको छ ।
मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम परराष्ट्रमन्त्रीले गर्नुभएको छ ।
उहाँले यसै अन्तर्गत मंगलबार कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गर्नुभएको छ। राणाको अनुरोधमा डा. खुलाइफी हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरुलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभएको छ ।
डा. खुलाइफीसँगको कुराकानीपछि मन्त्री डा राणाले यसबाट थप आशावादी भएको बताउनुभएको छ ।
प्रकाशित मिति : १ माघ २०८१, मंगलवार १४:१४