३ माघ २०८१, बिहीबार | Fri Jan 17 2025

भूमि समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा अर्जुन न्यौपाने, सदस्यमा घिमिरे र पाण्डे

२७ पुस, नुवाकोट । भूमि समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा अर्जुन न्यौपाने नियुक्त हुनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै नुवाकोटको अध्यक्षमा नेपाली कांग्रेसका नेता न्यौपानेलाई नियुक्त गरेको हो ।

न्यौपाने यसअघि कांग्रेस र माओवादीको संयुक्त सरकारले बनाएको आयोगमा समेत अध्यक्ष हुनुहुन्थ्यो । यस्तै सदस्यहरुमा नारायण घिमिरे र कल्पना पाण्डे न्यौपाने नियुक्त हुनुभएको छ । उहाँहरु दुबैजना नेकपा एमालेको नेता हुनुहुन्छ ।घिमिरे यसअघि तत्कालीन एमाले नेतृत्वको सरकारले बनाएको आयोगमा पनि सदस्य रहनुभएको थियो ।

dainiki.com

नेपाली कांग्रेसको कोटामा अब थप एक जना सदस्य नियुक्त हुनुहुनेछ । स्रोतका अनुसार कांग्रेसले सदस्यको नाम अहिलेसम्म मन्त्रालयमा बुझाउन सकेको छैन । आयोगका जिल्ला अध्यक्षहरुको सपथ ग्रहण सोमबार एकै पटक गराउने मन्त्रालयको तयारी छ भने सदस्यहरुले सम्बन्धित जिल्लामा जिल्ला अध्यक्षबाट सपथ गराउने तयारी गरिएको छ ।

सरकारले यसअघि एमाले नेता हरि रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो । हरेकजसो सरकारले आयोग मर्फत कामै सम्पन्न नगरे पनि कार्यकर्ता व्यवस्थापनको शैलीमा यसको उपयोग गर्दै आएकोछ । जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहकाे सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।

प्रकाशित मिति : २७ पुष २०८१, शनिबार २०:३६