विद्युतका पोल नसारिका कारण सडक निर्माण रोकिनु हुँदैन : मन्त्री दाहाल
२५ पुस, झाापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युतका पोलका कारण राजमार्ग विस्तारमा ढिलाई मान्य नहुने बताउनुभएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षणका क्रममा उहाँले सरकारी–सरकारी निकाय विच समन्वय र सहयोगको अभावले निर्माण कार्य रोकिन नहुने बताउनु भएको हो ।
बिहिबार झापा र मोरङ्का विभिन्न खण्डमा जारी राजमार्ग विस्तार कार्यको निरीक्षण गर्दै उहाँले विकास निर्माण कार्यको सवाल कुनै एक मन्त्रालय वा कार्यालयको मात्र नभएकाले सवै निकायहरु विचमा दर्विलो समन्वय आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
‘कतिपय ठाउँमा रुख कटानको समस्याले राजमार्ग विस्तार कार्य रोकिन पुगेको थियो तर त्यसलाई एक हद सम्म हामीले समाधान गरेका छौं’ मन्त्री दाहालले भन्नुभयो, ‘वन संरक्षण एवम् विद्युत, खानेपानी तथा सडक विस्तार कुनै एक कार्यालय वा निकायको मात्र विषय होईन हामी सवैको साझा सरोकारका विषय हुन् ।’

विद्युतका पोल तथा तार नसार्दा राजमार्ग विस्तारमा ढिलाई हुन नदिन केन्द्रिकृत ठेक्काको साटो आवश्यक परेका ठाउँमा तुरुन्तै हटाउन र सार्न सकिने प्रवन्धन गर्नु पर्नेमा उहाँको जोड छ ।
सडक विभाग एवम् परियोजना निर्देशकहरुलाई उहाँको निर्देशन छ, ‘पूर्वपश्चिम राजमार्ग विस्तारमा मात्र होईन अन्य सडक निर्माण र विस्तारका क्षेत्रमा पनि विद्युतका पोल नसारिँदा काममा ढिलाई हुनु भएन, तपाईहरु पहल गर्नुस्, आवश्यक परेमा मन्त्रालयले समन्वय गर्ने छ ।’
पूर्वपश्चिम राजमार्ग विस्तार कार्य सरकारको उच्च प्राथमिकताको आयोजना भएको उल्लेख गर्दै उहाँले यसलाई तिव्र र चुस्त बनाउन सडक विभागलाई निर्देशन समेत दिनुभयो । यस राजमार्गले नेपाललाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले नेपालको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउने मन्त्री दाहालले विश्वास व्यक्त गर्नु भएको छ ।
मन्त्री दाहालले बिहिबार झापाको पाडाजुङ्गी देखि दमक हुँदै मोरङ्को उर्लाबारी, पथरी, कानेपोखरी तथा बिराटचोक क्षेत्रमा भई रहेको सडक विस्तार कार्यको निरीक्षण गर्नु भएको हो ।
प्रकाशित मिति : 16:51









