नुवाकोटको शेरा दरबारको जग्गा हिनामिना गर्ने माथि अख्तियारले थप अनुसन्धान र कारबाही गर्ने
१२ पुस, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको शेरा दरबारको जग्गा हिनामिना गर्नेमाथि थप कारबाही र अनुसन्धान अख्तियार दुरूपयोग अनुसन्धान अयोगले गर्ने भएको छ । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदन पठाएसँगै अब अख्तियारले यसमा संलग्नहरू माथि थप अनुसन्धान र कारबाहीको काम अघि बढाउने भएको छ ।
ब्यूरोले अनुसन्धान प्रतिवेदन सिफारिससहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र अख्तियार दुरूपयोग अनुसन्धान अयोगलाई पत्राचारसहित पठाएको छ । दैनिकीसँगको कुराकानीमा शुक्रबार अनुसन्धान प्रतिवेदनसहितको सिफारिस मन्त्रालय र आयोग पठाइएको ब्यूरोका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
ब्यूरोले पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा तत्कालै नेपाल सरकारको नाममा ल्याउन सिफारिस गरेको प्रतिवेदन शुक्रबार मन्त्रालयमा हस्तान्तरण भएको छ भने आवश्यक अनुसन्धान र कारबाहीका लागि आयोगलाई लेखि पठाइएको छ ।
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष प्रहरीको रहेको छ । प्रहरीले कार्यान्वयका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुसन्धान प्रतिवेदन नै हस्तान्तरण गरेको छ ।
प्रतिवेदन अनुसार जग्गा कम्पनीको नाममा लैजान भूमिका खेल्ने र कम्पनी हुँदै व्यक्तिको नाममा लैजान संलग्नहरू माथि थप कारबाही प्रकिया अब अख्तियारबाट हुनेछ । अख्तियारले यसअघि नै जग्गाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले त्यसका लागि सम्पूर्ण अुनसन्धान प्रतिवेदन मन्त्रालयमा जस्तै आयोगमा पनि पठाएको छ ।
पृथ्वीनारायण शाहको पालाको १८४ रोपनी जग्गा पुस्तैनी सम्पत्तिका रुपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी छोरी हेलेन शाह र नातिनी जयन्ती शाहको नाममा आएको थियो । तर, भूमि सुधार ऐन ९२०२१०, मालपोत ऐन ९२०३४० लागू भएर कार्यान्वयनमा आउँदा हदबन्दी अनुसार हेलेनको नाममा १२ रोपनी र जयन्तीको नाममा ६ रोपनी ९ आना जग्गा कायम भएको थियो । अब हदबन्दी भन्दा बढी रहेको १६३ रोपनी जग्गा सोझो सरकारको नाममा आउनेछ भने हेलेन र जयन्तीको नाम हुँदै २०६४ सालपछि अन्य व्यक्तिको नाममा गएको जग्गा पनि पक्रिया पुर्याएर नेपाल ट्रष्टको नाममा आउनेछ ।
प्रहरी अनुसन्धानबाट प्रचण्डको पूर्व स्वकीय सचिव विकेश श्रेष्ठले विक्रम संवत २०४४ सालदेखि नै जग्गाको भोगचलन गर्दै आएको खुलेको छ । उनले ढड्डामा गौरीशंकर फार्मिङको नाम काटेर अन्नपूर्ण फार्मिङको नाम बनाएको पाएको छ । ढड्डामा केरमेट गरी नाम परिवर्तन गरिएको छ ।
यो पनि पढ्नुहोस्,
नुवाकोटको शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई सिआईबीको सिफारिस
नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गा कम्पनी हुँदै यसरी पुग्यो व्यक्तिको कब्जामा
प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार २१:३८