७ पुष २०८१, आईतवार | Sun Dec 22 2024

छहारी बचत तथा ऋण सहकारी संस्थामा जोडिए १४५० सदस्य

७ पुस, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको छहारी बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ । बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ मा रहेको बेलकोट भन्ज्याङ माविमा शनिबार सम्पन्न साधारणसभाले विगतकोसमिक्षा गर्दै आगमी वर्षको कार्यक्रम तर्जुमा गरेको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष नारायण खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत र ऋण प्रवाहमा पुर्‍याएको योगदानबारे चर्चा गर्नुभयो। संस्थाले ५ करोड बचत संकलन गरेको उहाँले जानकारी दिनुभयो ।

संस्थाको जगेडा कोषमा १ करोड रहेको छ भने ४१ लाख बराबरको सेयर पुँजी रहेको खनालले बताउनुभयो । सहकारीमा जगेडा तथा अन्य कोषसहित गरेर ९ करोड ७५ लाख रहेको छ । सहकारीले कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा ऋण प्रवाह गर्दै उल्लेखनीय प्रगति गरेको अध्यक्ष खनालले अवगत गराउनुभयो । अध्यक्ष खनालले आगामी वर्षदेखि संस्थाका सेयर सदस्यहरूले उत्पादन गरेका तरकारी, फलफूल लगायतका सामानहरू स्टल बनाएर बिक्री गरिने समेत घोषणा गर्नुभयो ।

साधारणसभाको उद्घाटन सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य वसन्तराज पुरीले गर्नुभएको थियो । साधारणसभालाई सम्बोधन गर्दै प्राचार्य पुरीले सहकारीहरूले आर्थिक सशक्तीकरण र समुदायको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । उहाँले अहिले सहकारीका विषयमा नकारात्मक सन्देश फैल्याउने काम भइरहेको जनाउँदै उहाँले केहि सहकारीमा समस्या देखिएको भए पनि देशभर रहेका धेरै सहकारीहरूले राम्रो काम गरेको बताउनुभयो ।

कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव प्रसाद दाहालले सहकारीलाई अझै व्यवसायमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले सहकारीको विकासमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा दुईजना उत्कृष्ट कृषकलाई खादा ओढाएर सम्मान गरिएको थियो। सहकारीको सहयोगमा व्यवसायिक कृषि क्षेत्रको विकासमा योगदान गरेको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो । सहकारीले आगामी दिनमा उत्कृष्ट सदस्यहरूको पहिचान गरी थप प्रोत्साहन गर्ने योजना अघि सारेको छ।

उक्त सहकारीमा बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र ११ का गरेर झण्डै १४५० जना सेयर सदस्य रहेका छन । साधारणसभाले गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन, चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र चालू आर्थिक वर्षको लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका निर्णय गरेको  छ । साधारणसभामा सेयर सदस्यहरूसहित स्थानीय जनप्रतिनिधि, सहकारी अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १३:४४