६ पुष २०८१, शनिबार | Sat Dec 21 2024

नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर रिलिज

५ पुस,  काठमाडौं । आजबाट नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर प्रदर्शनमा आएको छ ।

यस चलचित्रले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ।

१९८० को दशक, अर्थात्  करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यस चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ।

चलचित्रको कथा र पटकथा भने जोन राई र रुपेश तामाङले लेखेका हुन् । छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् ।

दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको यो चलचित्रको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन् ।

‘बम बहादुर’ चलचित्रले भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्ताबेजको रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको निर्देशक जोन राई बताएका छन् ।

 निर्माता सञ्जीव सार्कीका अनुसार बिस्ट ब्रदर्स फिल्म्स प्रा।लि।को निर्माणमा बनेको यस चलचित्रले आज र भोलिका पुस्ताहरूले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले निर्माण गरेको हो ।

चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् भने वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

यस चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बुझेका दर्शकहरूको लागि मात्र होइन, भारत र नेपालका युवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिन पनि महत्त्वपूर्ण छ । चलचित्रले नेपाली समुदायको संघर्ष र पहिचानको कथा सम्झनामा सुरक्षित राख्ने उद्देश्य बोकेको निर्देशक जोन राईले बताए ।

चलचित्रमा सौगात मल्लको प्रमुख भूमिका रहेको छ । साथै, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, प्रशान्त राई, अनिशा रसाइली, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार ०९:४५