१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

जनतालाई सुविधा दिनेतर्फ अग्रसर हुन जरुरी छ: वर्षमान पुन

१ पुस, बेनी । नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दावी गर्नुभएको छ । नेकपा (माओवादी केन्द)म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उहाँले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ता सञ्चालनमा स्थायित्व नहुँदा जनताले चाहे जस्तो विकास र समृद्धि हासिल हुन नसकेको उहाँको भनाइ छ । “मुलुकमा वर्तमान व्यवस्थाप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ, कतिपयले राजतन्त्र ठीक पनि भन्ने गरेका छन्, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादी नीति, कार्यक्रममार्फत जनतालाई सुविधा दिनेतर्फ अग्रसर हुन जरुरी छ”, नेता पुनले भन्नुभयो ।

संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने पद्दति आवश्यकता रहेको बताउँदै नेता पुनले समानुपातिक, समावेशीता र सामाजिक न्यायलाई प्रभावकारी बनाएर पछाडि परेका वर्ग, समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : December 16, 2024 at 3:46 pm