२८ मंसिर २०८१, शुक्रबार | Fri Dec 13 2024

सामाजिक एकता कायम गर्न भाषा–संस्कृति महत्वपूर्ण छ: सदानन्द मण्डल

१५ मङ्सिर, विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सामाजिक एकता कायम गर्न भाषा–संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

मैथिली एशोसिएसन नेपालद्वारा आज यहाँ आयोजित ‘मान इन्टरनेशनल अवार्ड’ कार्यक्रममा उहाँले मान–सम्मानको परम्पराले समाजमा एकता एवं सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सबैको मान–सम्मान गर्नुपर्नेमा जोड दिँदै आफूले पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ भन्नुभयो । फरक प्रसङ्गमा उहाँले बहुभाषिक हाम्रो मुलुकका विविध मातृभाषाका समाचार र विचार सम्प्रेषणलाई प्राथमिकता दिँदै राससले आफ्नो सेवामा मैथिली भाषालाई समावेश गरेको बताउनुभयो ।

त्यसअवसरमा कार्यकारी अध्यक्ष झालाई सम्मान गरिएको थियो । साथै नेपाल र भारतका एक सय १० जनालाई सम्मान गरिएको थियो । कार्यक्रम एशोसिएसनका अध्यक्ष प्रवीननारायण चौधरीको अध्यक्षतमा भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार १५:२३