जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुपर्छः मन्त्री अधिकारी
८ मङ्सिर, बाँके । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा शुक्रबार नेपालगञ्जमा आयोजित लुम्बिनी र कर्णाली प्रदेशका मालपोत तथा भूमिसुधार कार्यालयहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताले अनुभूति गर्नेगरी कर्मचारीबाट कार्यसम्पादन हुनुपर्नेमा जोड दिनुभयो ।
कानुनको विधिमा चल्ने र विधिको शासन लागू गर्ने जिम्मेवारी बोकेका कर्मचारीले स्वार्थ राखेर काम गर्न नहुने उल्लेख गर्दै मन्त्री अधिकारीले परिवर्तनको आशयअनुरुप कर्मचारीलाई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । “हामीले जनतालाई आशा जगाउने गरी काम गरिरहेका छौँ, त्यसको प्रतिफल आइरहेको छ”, उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार दृढताका साथ काम गरिरहेको छ ।”
मन्त्री अधिकारीले कुनै पनि भ्रम वा अफवाहका पछाडि नलागी तथ्यका आधारमा भावनात्मक एकताका साथ देश र जनताको सेवामा सबै समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाका सांसद दीपा शर्माले अनुभव साटासाटले कार्यसम्पादनमा थप टेवा पुग्ने बताउँदै जनताले चाहेको सेवा प्रवाह गर्न प्रगति समीक्षाको उद्देश्य हुनुपर्नेमा जोड दिनुभयो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अव्यवस्थित बसोबास, भूमिहीन तथा सुकुम्वासीका समस्या स्थायी रुपमा समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको थियो ।
प्रकाशित मिति : November 23, 2024 at 10:37 am









