२४ मंसिर २०८१, सोमबार | Tue Dec 10 2024

शनिवार अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा नेपाल महोत्सव, तयारी पुरा

अष्ट्रेलिया । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्नीमा शनिवार २३ नोभेम्वरमा एनआरएनए अष्ट्रेलियाको आयोजना हुने नेपाल महोत्सव  २०२४को तयारी पुरा भएको छ । सिड्नीको प्रसिद्ध डार्लिङ हार्बरमा रहेको तुम्बालोङ पार्कमा हुने फेष्टिभल ६ वर्षपछि फेरि यहीँ हुन लागेको हो । महोत्सवमा प्रमुख अतिथिको रुपमा न्यूसाउथवेल्स राज्यका प्रिमियर क्रिस मिन्स सहभागी हुने भएका छन् । सिड्नीको नेपाल महोत्सवमा ईतिहासमै पहिलो पटक राज्यका प्रिमियर अतिथिको रुपमा सहभागी हुन लागेका हुन् । एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार प्रिमियर मिन्ससँगै न्यूसाउथवेल्सका उच्चपदस्थ राजनीतिक नेतृत्व पनि नेपाल महोत्सवमा सहभागी हुने तय भएको छ ।

३० हजारभन्दा बढी दर्शकले सहभागिता जनाउने अपेक्षा गरिएको अध्यक्ष पोखरेलले जनाएका छन् । नेपाल महोत्सवको प्रारम्भ शनिबार विहान सास्कृतिक पदयात्राबाट  शुरु हुने छ ।

महोत्सवमा नेपाल हाउसमा यस पटक नेपालबाट ९ वटा विभिन्न व्यवसायिक संघसंस्थाले नेपालको परम्परागत मूर्तिकला, काष्ठकला, चित्रकला लगायतका सामग्री समेत प्रदर्शनमा राख्नेछन् ।

ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन मुख्य प्रायोजक रहेको नेपाल महोत्सवमा विगतमा झैं खानाका स्टलहरु, नेपालमा बनेका विभिन्न सामग्रीका स्टलका साथै सेवा र सूचनाका स्टल पनि राखिने भएको छ ।

साझ दि एक्स व्याण्डका साथै गायक हेमन्त शर्मा र गायिका आस्था राउतले पनि आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेपाली खाना, संस्कृति र परम्पराहरुको प्रदर्शनी र प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा यहाँका आठवटै राज्यहरुमा नेपाल फेष्टिभल गर्दै आएको छ । सिड्नी महोत्सवलाई नेपाली दूतावास, पर्यटन बोर्ड, वाणिज्यदूतको कार्यालय, मल्टिकल्चरल न्यूसाउथवेल्स लगायतको साथ रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १२:२९