कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती
-कमलकुमार बस्नेत
२५ कात्तिक, काठमाडौँ । गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए । सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो ।
हाम्रो टोलीका आठ जनामध्ये आरोही मिङ्मातेञ्जी शेर्पा र कमल प्रसाईँ पहिलो उडानमा गोरकपेस पुगिसकेका थिए । दोस्रो उडानमा म र राजेन्द्र लुइँटेल पुगेका थियौँ । हामीलाई त्यहाँसम्म लैजाने सत्यकला तामाङ र फुर्बाग्याल्बो मोक्तान तथा लुक्लाका पर्यटन व्यवसायी नाम्गेल शेर्पा र नारायण अधिकारी हामीभन्दा पछिको उडानमा आउँदै थिए । ‘हाइ अल्टिच्युड’का कारण गोरकसेपसम्मको उडानमा हेलिकप्टरले दुई जनाभन्दा बढी यात्रु नबोक्ने भएकाले हामीलाई त्यहाँसम्म पुग्न चारवटा उडानको भर पर्नुपरेको थियो ।
सगरमाथा आरोही तथा आधार शिविरसम्म पुग्नेका लागि होटल पाउने अन्तिम स्थान गोरकसेप भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लै थियो । गोरकसेपको खोँचमा ढुङ्गैढुङ्गाले बनाएको गोलाकार थुम्को (हेलिप्याड) मा हेलिकप्टरबाट ओर्लँदै गर्दा ‘अल्टिच्युड सिकनेस’ले गम्भीर एक जनालाई स्ट्रेचरमा हेलिकप्टरतर्फ ल्याउँदै गरेको देख्दा मन भारी भयो । कतै हाम्रो अवस्था पनि यस्तै त हुने होइन भन्ने मनमा डर लाग्न थालिसकेको थियो ।
हेलिकप्टरबाट ओर्लनेबित्तिकै हामीलाई मोबाइलबाट तस्बिर लिनै हतार भइसकेको थियो । अघिल्लो उडानमा आएका मिङ्मा र प्रसाईँसँग भेट भयो । मिङ्माले मलाई हामी वरपरका सबै हिमाल एक–एक गर्दै चिनाइदिनुभयो । बाँकी साथी आउँदै गर्छन् हामी हाम्रो गन्तव्य कालापत्थरको उचाइतर्फ जाऔँ न त भन्ने भयो । यत्तिकैमा मेरो शरीर एक्कासी लुलो भएझैँ भयो । रिङ्गटा लागेजस्तै टाउको भारी भयो । एकैछिन अघिसम्म ऊर्जाले भरिएको शरीरबाट कसैले शक्ति खिँचेजस्तो गरी रित्तिएझैँ भयो । पछि थाहा भयो अरु साथिहरुलाई पनि मलाई जस्तै भएको रहेछ ।
दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लाबाट १५ मिनेटमै पाँच हजार एक सय ८० मिटर उचाइको गोरकसेपमा पुगेका हामीले भोगेको समस्या मिङ्माले बुझिहाल्नुभयो । कैयौँपटक त्यही बाटो हुँदै सगरमाथाको टुप्पोसम्म पुग्नुभएका उहाँले हामीलाई विस्तारै होटलभित्र पुर्याउनुभयो । उहाँले सुरुमा तातोपानी दिनुभयो । त्यसपछिको चियापत्ती मात्र हालेको चिनीबिनाको चिया औषधिजस्तै भयो । उहाँले लसुन र टिमुर हालेको चाउचाउको झोल पनि ल्याउनुभयो । र जसरी पनि खानुपर्छ भन्दै उर्दी जारी गर्नुभयो । चाउचाउको झोलले शरीर तात्न थाल्यो । मेरो शरीरले अलिक बिसेक मान्यो । रासस
प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार ०७:२१