१५ कार्तिक २०८१, बिहीबार | Thu Oct 31 2024

शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन्: अध्यक्ष दाहाल

१५ कात्तिक, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताउनुभएको छ । शङ्खरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले शैक्षिक क्षेत्रका समस्या अन्त्य गर्न राजनीतिक दलले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

“शिक्षा क्षेत्रमा देखिएका विकृति विभिन्न कोणबाट आएका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “यस्ता समस्या समाधान गर्न राजनीतिक दल वा विचारबाट भन्दा माथि उठेर सबै एकजुट भएर समन्वय गर्नु जरुरी छ ।” आफू छोटो समय शिक्षकका रुपमा काम गरेको स्मरण गर्दै उहाँले नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा शैक्षिक उन्नयनमा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

शिक्षण पेसालाई अपमानित गर्ने खराब संस्कृतिको विकास हुन थालेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले सबै मिलेर शिक्षणलाई सम्मानित पेसाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली जनताको त्याग र बलिदानबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई नयाँ संविधान कार्यान्वयनका क्रममा रहेको भन्दै उहाँले संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी सबैले इमान्दारिपूर्वक पूरा गर्नुपर्ने बताउनुभयो ।

साँखु क्षेत्रको विकासका साथै विद्यालयको भौतिक पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षाका लागि आफूले गर्न सक्ने सहयोगसहित आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै अध्यक्ष दाहालले सबैको एकताबद्ध साथ आवश्यक रहेको बताउनुभयो ।

“शैक्षिक गुणस्तर कायम गर्नु शिक्षक, अभिभावक, विद्यार्थी सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “यहाँको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकासँगको सहकार्यमा मैले गर्न सक्ने सहयोग र पहलका लागि प्रतिबद्धता व्यक्त गर्दछु ।”

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार १३:४१