१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

जनता पीडामा, जनप्रतिनिधि विदेशमा रमाउँदै

१२ कात्तिक, सिन्धुली । गत महिना अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परेर आफ्नो घरखेत बगाएका स्थानीय वासिन्दा राहत र पुननिर्माणका लागि पर्खिरहेका बेला सिन्धुलीको सुनकोशी गाउँपालिकाकी अध्यक्ष विदेश भ्रमणमा छिन् । गत असोज ११ र १२ गतेको बिनाकारी बाढीले सुनकोशी गाउँपालिकाको तटिय क्षेत्रमा रहेका स्थानीय वासिन्दाहरु सबैभन्दा बढी पिडित बनेका नागरिकको पीडा कम गराउन सक्रिय हुनुपर्ने गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहाल अहिले चिनमा मोजमस्तीमा व्यस्त छिन् ।

पहिलो चरणमा वितरण गरिएको राहतमा पक्षपात गरिएको आरोप लागेपछि त्यसलाई निराकरण गर्न सक्रिय हुनुपर्ने अध्यक्ष बोहोरा जनताको पिडालाई बिर्सेर विदेश भ्रमणमैं रमाइरहेकी छिन् । पहिलो चरणमा गाउँपालिकामा बितरण गरिएको राहतमा स्थानीय वासिन्दाहरु छुटेको र वितरणमा राजनीतिकरण गरेको आरोप लागेपछि सिन्धुली प्रशासनले राहत वितरणमा एकद्धार प्रणाली लागु गर्न दबाब दिएको थियो तर सुनकोशी गाउँपालिकमा स्थानीय सरकारले एकद्धार प्रणाली कार्यान्वयनमा ल्याउनै चाहेन ।

केन्द्र र प्रदेश सरकारले सुनकोशी गाउँपालिकाका पिडितहरुको लागि राहत तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्न एक करोड रकम पठाएका बेला पालिका अध्यक्ष दाहाल १५ दिने चिन भ्रमणमा निस्किएपछि उनको भ्रमणका लिएर जनआक्रोस् चुलिंदै गएको छ । आफू विरोधी दल र इतर पक्षकै नेता कार्यकर्ताको चर्को आलोचना गर्दै आएकी अध्यक्ष दाहालले पिडित नागरिकहरु प्रति वेवास्तागर्दै विदेश भ्रमणमा रमाइरहँदा पालिका कार्यालय रामटारमा राहत तथा पुर्नस्थापना मागगर्दै आउने सर्वसाधारणहरु निराश भएर फर्किरहेका छन् ।

पालिका भित्र ३० घर पूर्ण रुपमा क्षति भएको छ भने अधिकांश नागरिकको वर्षभरी खाने धान सुनकोशी नदीले बगाएको छ । आफ्नो पालिकामा भएको क्षतिको पूर्ण बिबरण संकलन गरेर राहत वितरण गर्नु पर्ने बेलामा अध्यक्ष दाहाल विदेश भ्रमणमा गएपछि अहिले पालिकामा समस्या आइपरेको कर्मचारीहरु बताउँछन् । अन्य प्रशासनिक कामहरु हुन्छन् तर आर्थिक काम आफू आएपछि मात्रै गर्नुपर्छ भनेपछि प्रमुख प्रशासकिय अधिकृत अध्यक्ष आउने बाटो हेरेर बसेका छन् ।

सुनकोशी गाउँपालिका उपाध्यक्ष कोइरालाका अनुसार रेडक्रसले सुनकोशी नदीको वाढी र पहिरोले पु¥याएको क्षतिको तथ्यांक संकलन गरिरहेको र पहिलो चरणको राहत कार्यक्रम सकेको र दोस्रो चरणको कामहरु अगाडि बढाइरहेको जानकारी दिएका छन् । उनले आफ्नो पालिकामा रेडक्रसले वगाएको खानेपानी आयोजनाको मर्मत संभारमा पनि सघाइरहेको उनको भनाई थियो ।

स्मरणीय छः सुनकोशी गाउँपालिका अध्यक्ष दाहाल सँधैभरी सुशासन र नागरिक मैत्री कुरा गरेर कहिल्यै नथाक्ने माओवादी सिन्धुलीका सांसद राजन दाहालकी पत्नी हुन् । नागरिकहरु रोशी र सुनकोशीले बगाएको बिपी राजमार्गमा रोकिएका बेला काभ्रेको धुलिखेलबाट हेलिकोप्टरमा झरेर फोटो खिचेपछि समाजिक सञ्जालमा भाइरल बनेका दाहालले घरवार बिहिन र अन्नपात नभएका नागरिकलाई राहत बितरण गराउन छोडेर आफ्नी पत्नीलाई किन १५ दिने चिन भ्रमणमा पठाए ? अहिले सुनकोशीका पिडितहरुले यही प्रश्न गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १७:३१