१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

उपयोग र संरक्षणको पर्खाइमा तातोपानी कुण्ड

१२ कात्तिक, म्याग्दी। मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताउनुभयो ।

“लोमान्थाङको नजिकै भएर पनि ओझेलमा परेको तातोपानीको मुहानलाई व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेका छौँ”, उहाँले भन्नुभयो, “तातोपानीलाई व्यवस्थित रुपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने सम्भावना छ ।”

लोमान्थाङ खोलाको किनारमा रहेको तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नानको गर्ने व्यवस्था मिलाउने तयारी गरेको अध्यक्ष गुरुङले बताउनुभयो । चिसो हावापानी र मौसम हुने लोमान्थाङमा रहेको तातोपानीको मुहन प्रकृतिको वरदान हो । खोलाको किनारमा जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तातोपानी निस्कन्छ ।

लोमान्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्ड नजिकैसम्म सडक पुगेको छ । बेनी–जोमसोम–कोरला सडक निर्माण भएपछि विकल्पमा पुराना घोरेटो बाटोलाई स्तरोन्नति गरेर पर्यटक हिँडाउन थालिएको हो ।

कुण्डको नजिकै आश्रयस्थल र स्नान गर्ने ठाउँ पनि छ । जमिनभित्रबाट भुक्लुक भुक्लुक गरेर तातोपानी निस्कने गर्छ । स्थानीयवासी भने तातोपानी नुहाउनका लागि जाने गर्छन् । पोखरीको पानीलाई भाडामा राखेर शरिरमा राख्दै नुहाउने गर्छन् ।

व्यवस्थित र प्रचारप्रसार नभएकाले लोमान्थाङ आउने पर्यटक कुण्डसम्म पुग्न नसकेका लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताउनुभयो । कुण्डलाई व्यवस्थित गरेर लोमान्थाङ घुम्न आउने पर्यटकको बसाई लम्बाउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

लोमान्थाङदेखि ३० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । स्थानीयका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुन्छन् । तातोपानीमा स्नान गरेपछि थकान मेटाउन र शारीरिक स्फूर्ति हुन्छ ।

विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो । वरपर सुक्खा कलात्मक पहाडको बीच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो ठाउँ समुद्री सतहदेखि तीन हजार सात सय २० मिटरको उचाइमा छ ।

समथर खेतीयोग्य फाँटको बीचमा बसेको लोमान्थाङ वरपरको भूगोल मनमोहक र आकर्षक छ । फाँटको फेदीमा तातोपानीको मुहान रहेको छ । माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य लाक्पा वाङदी गुरुङले बताउनुभयो । अर्धनिषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा वार्षिक तीन हजार जनाको अनुपातमा विदेशी पर्यटक आउँछन् । त्यहाँ हिजोआज भने नेपाली पर्यटकको चहलपहल छ ।

प्रकाशित मिति : October 28, 2024 at 9:50 am