१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

‘अतिक्रमण हुँदा कर्मनाशा खोला हाउजिङमा पस्यो’

५ कात्तिक, ललितपुर । अतिक्रमण हुँदा कर्मनाशा खोला हिलभ्यू हाउजिङमा पसेकाले यसतर्फ सङ्घ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण कर्मनाशा खोलाको बाढी ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित हिलभ्यू हाउजिङ (बालकुमारी कोलोनी) मा पसेको थियो ।

बाढीले भुइँ तला पूरै डुबाएको हाउजिङका अध्यक्ष मोहन भट्टराईले जानकारी दिनुभयो । “पन्ध्र वर्षदेखि हामी कोलोनीमा बसिरहेका छौँ, अहिलेसम्म यस्तो समस्या आएको थिएन, २०७२ सालको भूकम्पमा पनि क्षति व्यहोर्नुपरेको थिएन, कर्मनाशा खोलाको ललितपुर महानगरपालिकातर्फ करिडोर अतिक्रमण हुँदा अहिले क्षति व्यहोर्नु पर्यो”, उहाँले भन्नुभयो ।

उक्त क्षेत्रको भौगोलिक बनावट र जोखिम तत्काल अध्ययन गरी कुन कुन स्थानमा कति जोखिम छ भनेर पत्ता पत्ता लगाउन आवश्यक छ । मनोहरामा मिसिने कर्मनाशा खोला सिधै गएर  मिसिएकामा सो खोलाको मिलन विन्दुको आकार फराकिलो बनाई ‘वाई’ आकारमा मिसिने व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने अध्यक्ष भट्टराईको भनाइ छ । उहाँले यस्तो विपद् व्यवस्थापनका लागि दीर्घकालीन उपाय खोजी गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो । च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० पार्टी कार्यालय नजिक रहेको मनोहरा खोलाको पुललाई प्रतिस्थापन गरी रिङरोडमा रहेको पुल सरह अग्लो बनाउनुपर्ने अध्यक्ष भट्टराईले  बताउनुभयो ।

पन्ध्र वर्षदेखि सञ्चालनमा रहेको उक्त कोलोनीमा ७२ परिवारको बसोबास रहेको सचिव अक्षय गौतमले बताउनुभयो । बाढीबाट रु २० करोड बराबरको क्षति भएको उहाँको भनाइ छ ।  कर्मनाशा खोलाको पूर्वतर्फ अर्थात् महालक्ष्मीनगर पालिकातर्पm करिडोर तथा कच्ची सडक निर्माण भइसकेकामा त्यसको पश्चिमतर्फ ललितपुर महानगरपालिकाले पनि तत्कालै करिडोर खाली गराएर करिडोरमा सडक बनाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

कोनोनीका सदस्य मनोज खड्काले कर्मनासा खोलाको दायाँबायाँ करिडोर सडक निर्माण गरेर तथा खोलालाई अतिक्रमण हुनबाट बचाई खोलाले आफ्नो बाटोमा बग्ने संरचना बनाउन  आवश्यक पहल गर्न माग गर्नुभयो । “कर्मनाशा खोलाको पूर्वतर्फको कोरिडोरको भाग खाली गरी सडक निर्माण गर्न हामीले सहयोग गरेका छौँ । पश्चिमतर्फ ललितपुर महानगरपालिकातर्फ करिडोर खाली नगरेकाले खोलाको सबै बहाव हाउजिङतर्पm मोडिएकाले अत्यधिक क्षति व्यहोर्नु पर्यो”, उहाँले भन्नुभयो । कर्मनाशा, मनोहरा तथा बागमतीमा फोहर मैला तथा बालुवा भरिएका कारण खोलाको गहिराई कम हुँदै गएकाले नियमित सफा गरी वास्तविक गहिराइ कायम गर्नुपर्ने खड्काले बताउनुभयो । खोला बग्ने स्थानमा उद्यान र कोरिडोर निर्माण भएकाले चौडाइ बढाउन तथा चौडाइमा एकरुपता कायम गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : October 21, 2024 at 5:20 pm