४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

रबिजीका बिगतहरुसँग भिड्ने कि वर्तमानले खोजेको परिवर्तनका लागि ?

-प्रेम बानियाँ

सहकारी ठगी प्रकरणमा रबिजीको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता र त्यसभन्दा कयौं गुणा ठूला साइजका संलग्नता र ठगीहरु खुलारुपमा सार्वजनिक भइसकेका छन् । कानुनी कारबाहीको प्रक्रियाबमोजिम केही पात्रहरुलाई यसअघि नै र पछिल्लोक्रममा रबिजीलाई अदालतको अनुमति बमोजिम पक्राऊ गरी हिरासतमा राखिएको हो ।

यस विषयबारे सिंगो नेपाली समाजलाई दिग्भ्रमित पार्नेगरी बहस, विवाद, छेडखानी र अन्यौलको धमिलो बढेको देख्दा आश्चर्य लागेर तीन कुरा राख्न यहाँ आएको छु ।

१, सहकारी ठगी प्रकरणमा संलग्न जो सुकै होस् (प्रत्येक)लाई कानुनी कठघरामा उभ्याउन दबाब सिर्जना गरौं । धनराज हुन् वा शक्तिराज, भाउजू वा देवर, संलग्न सबैलाई कानुनको कठघरामा ल्याउन विशाल बल लगाऔं, सम्पूर्ण क्षेत्रबाट ।

२, कृपया, यो प्रकरणलाई परिवर्तनको भविष्य सखाप पार्ने नयाँ पुस्तामाथिको वा बैकल्पिक शक्तिमाथिको षड्यन्त्रका रुपमा नजोडौं किनकी सहकारीको विषयमा मुछिएका ती ‘रबि लामिछाने’का त्यतिवेलाका सोच, रहर, खेल र योजनाहरु फरक थिए, जसको उपजस्वरुप एउटा टीभी जन्मिएको थियो र त्यसको हत्या जन्मदिने (यिनीहरु)ले नै षड्यन्त्रपूर्वक गरेका थिए !

आज, थाहा छैन नेपाली सञ्चारजगतले त्यो टीभीहत्याको मुचुल्का उठाउन भ्याएको छ कि छैन तर त्यो हत्या असामान्य हो ! र, यो बुझौंः त्यो टीभी, ती रबि र अहिलेको सहकारी प्रकरण र यी रबिबीच विशाल अन्तर भइसकेको छ ! कम्तीमा परिस्थितीको समिक्षा गरौं । मान्छेका रोजाइहरुको परिवर्तन स्वयम् मान्छेले होइन परिस्थितीले गर्दछ । यहाँनिर यही भएको छ ।

३, रबिजीका बिगतका गतिबिधीलाई अहिले सच्याउन सकिन्नँ, नखोजौं । रबिजीका बिगतका निजी मामिलाहरुलाई लिएर सिंगो स्वतन्त्र पार्टीले बिगतदेखि र अहिले उठाउन खोजेको प्रतिरक्षाको तरबारबारे स्वयम् पार्टीले गम्भीर समिक्षा गर्न जरुरी छ । नत्र, यो पार्टीले जिन्दगीभर रबिजीका बिगतबारे प्रतिरक्षा गर्दै समय बिताउनुपर्नेछ, यसको कोर्स चेन्ज गरौं !

द्वन्द्व व्यवस्थापनमा यसलाई फरक तरिकाले हेरिन्छ तर हामी अलि बढी नै भावुक पो भयौं कि ? हिजोका रबिजीका निजी रहर र कामहरुलाई नेपालको आगामी पुस्ताको भविष्य बदल्ने बैकल्पिक शक्तिप्रतिको सुनौलो विश्वाससँग ‘गाई कि त्रिशुल’ गरिरहने हो भने परिवर्तन फेरि पनि नानीमैया दाहालको चोकमा गएर टुंगिन सक्छ ! सोचौं ।

यहाँ कुनै पक्ष/बिपक्ष छैन । रबिजीले नयाँ पुस्ताको परिवर्तनका लागि उठाएको सहास प्रशंसनीय छ र यसको प्रशंसा म गरिरहन्छु । तर, त्यसअघि र पछिका जतिपनि गतिबिधीहरु छन् त्यसप्रति मेरा असहमति र सहमतीहरु छन् र यी मेरा निजी विचारहरुप्रति तपाईंका सम्पूर्ण प्रतिक्रियाहरु स्वीकार्य छन् ।

(बानियाँ रवि लामिछानेको पूर्व सहकर्मी हुनुहुन्छ ।)

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार ०८:४३