गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
२७ असोज, गण्डकी । यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई ।ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर त्यही गाईले बार्षिक लाखौँ रुपैया आम्दानी दिँदै आएको छ ।
पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडीत गाईबाट गत आर्थिक वर्षमा मात्र रु १३ लाख पाँच हजार ४० आम्दानी भएको छ । गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई विगत १६ बर्षदेखि गुफाको निरन्तर आम्दानीको स्रोत बन्दै आएको हो । गाईको प्रतिमाको भित्तातर्पm दूध राखिएको छ जुन ‘पाईप’को माध्यमबाट थुनसम्म आउँछ ।
कामधेनु गाईगोठमा अवस्थित यन्त्रजडीत गाईको नजिकै रहेको सानो प्वालमा दश रुपैँयामा खरिद गरी एउटा गुच्चा राखेपछि गाईको चारवटै थुनबाट दुध बगेर सिधै शिवलिङ्गमा पुग्ने व्यवस्था मिलाइएको छ ।
भक्तजनले गाईको गहुँतले स्नान गरेर शुद्ध भई केही तल रहेको प्राकृतिक शिवलिङ्गको दर्शन गर्ने गर्दछन् । विसं २०६४ सालमा रु एक लाख ५७ हजार एक सय ९८ लागतमा निर्माण गरिएको सो गाईले १६ वर्षमा एक करोड भन्दा बढी आम्दानी दिइसकेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो ।
सो अवधिमा करीब १५ लाख दर्शकले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गरेका छन् । उहाँका अनुसार गुफा अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीहरु पनि आउने गर्छन् । विशेषगरी धार्मिक परम्पराअनुसार साउनको सोमबार, शिवरात्री, मङ्गलचौथी, हरिबोधनी एकादशी, ऋषितर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी, नयाँ बर्ष लगायतका तिथिमा दर्शनार्थीको घुँईचो लाग्ने गर्छ ।
प्रकाशित मिति : October 13, 2024 at 3:22 pm










